
नेपालग्ज: जेन्जी आन्दोलन पछि महिला जनप्रतिनिधीहरूको मनोविज्ञानबारे नेपालगञ्जमा छलफल गरिएको छ । संञ्चारिका समूह बाँकेको आयोजनामा गरिएको छलफलमा समग्र जेन्जी आन्दोलन र त्यसपछिको समयमा भएका घटनाक्रमहरुले महिला जनप्रतिनिधीहरूको मनोविज्ञानमा कस्तो असर परेको छ भन्ने कुराबारे छलफल गरिएको थियो ।
कार्यक्रममा प्यानलिस्टका रूपमा कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदी, कोहलपुर नगरपालिका वडा नं. ११ की वडाध्यक्ष कल्पना शर्मा, पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान, प्रदेशसभा सदस्य सुशीला बादी, राजनीतिक विश्लेषक अर्जुन पोखरेल तथा जेन्जी प्रतिनिधिका रुपमा वक्ता प्रतिक्षा बस्नेत सहभागी थिए ।
संञ्चारिका समूह लुम्बिनी प्रदेशकी उपाध्यक्ष रूपा गहतराजले सहजीकरण गरेको कार्यक्रममा जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूमा देखिएको मनोवैज्ञानिक प्रभाव, राजनीतिक दबाब, जिम्मेवारी र चुनौतीहरूबारे गहन छलफल गरिएको थियो । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई केन्द्रमा राख्दै नेपालगञ्जमा गहन बहस गरिएको हो ।
छलफलमा वक्ताहरूले जेन्जी आन्दोलनलाई असन्तोषको अभिव्यक्ति मात्र नभई राजनीतिक नेतृत्वप्रति जवाफदेहिता र पारदर्शिताको मागका रूपमा व्याख्या गरे । महिला जनप्रतिनिधिहरूका अनुभव अनुसार आन्दोलनले करिब एक महिनासम्म उनीहरूको राजनीतिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको थियो ।
कोहलपुर नगरपालिकाकी उप–प्रमुख सङ्गीता सुवेदीका अनुसार जेन्जी आन्दोलनले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई गहिरो रूपमा पुनः परिभाषित गरिदिएको छ । आन्दोलनको प्रभाव करिब एक महिनासम्म प्रत्यक्ष रूपमा राजनीतिक जीवनमा देखिएको उल्लेख गर्दै उनले भनिन्,–‘त्यो समय हामी सबैका लागि आत्ममूल्यांकनको थियो । हामी किन राजनीति गर्दैछौं र कसका लागि गर्दैछौं भन्ने प्रश्नले गम्भीर रूपमा सोच्न बाध्य बनायो ।’

ती घटनापछि केही समय आफूलाई मानसिक रूपमा सम्हाल्न निकै कठिन भएको उनले स्वीकार गरिन् । आन्दोलनको असर परिवारसम्म पुगेको र राजनीतिमा आफूलाई जोडेर परिवारमाथि समेत प्रश्न उठ्दा निकै दुःख लागेको उनले बताइन् ।
कोहलपुर नगरपालिका–११ की वडा अध्यक्ष कल्पना अधिकारी शर्माले महिला जनप्रतिनिधिहरू आलोचनालाई नकारात्मक रूपमा होइन, सुधारको माध्यमका रूपमा लिन सिक्दै गएको बताइन् । उनका अनुसार जेन्जी आन्दोलनले नेतृत्वलाई आफ्नै काम, निर्णय र भूमिकामाथि पुनरावलोकन गर्न प्रेरित गरेको छ, जसले दीर्घकालीन रूपमा उत्तरदायी शासन प्रणालीलाई सबल बनाउन मद्दत पु-याउँछ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खानले बदलिँदो सामाजिक परिवेशले महिला नेतृहरूको मानसिकता थप सुदृढ बनाएको धारणा राखिन् । उनले नेतृत्वले समयअनुसार आफ्ना प्राथमिकता र कार्यशैली परिमार्जन नगरे जनअपेक्षाबाट टाढा हुने खतरा रहेको उल्लेख गरिन् ।
प्रदेश सभा सदस्य सुशिला बादीले युवाहरूको सक्रिय सहभागिताले नीति निर्माण प्रक्रियामा नयाँ दृष्टिकोण थपिएको बताइन् । उनका अनुसार महिला नेतृत्वले युवासँग सहकार्य गर्दै अघि बढ्दा मात्र समावेशी र व्यवहारिक नीति निर्माण सम्भव हुन्छ ।
राजनीतिक विश्लेषक अर्जुन पोखरेलले जेन्जी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्तिका रूपमा सीमित गरेर हेर्नु त्रुटिपूर्ण हुने बताए । उनका अनुसार यो आन्दोलन लोकतान्त्रिक अभ्यासको स्वाभाविक विकासक्रम हो, जसले नागरिक चेतनाको स्तर कति बढेको छ भन्ने स्पष्ट संकेत गर्दछ । युवाहरूले सडक र सामाजिक सञ्जालमार्फत उठाएका प्रश्नले सत्ता र नेतृत्वलाई जवाफदेही बनाउने दबाब सिर्जना गरेको उनको विश्लेषण थियो ।
पोखरेलले जेन्जी आन्दोलनबाट बनेको अन्तरिम सरकारले हालसम्म के–कस्ता काम गरेको छ भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए । उनले भने, जेन्जी आन्दोलनले नेतृत्वलाई निरन्तर परीक्षणको घेरामा राख्ने संस्कार विकास गरिरहेको उनको धारणा थियो ।


