‘जेन-जि’ को माग अनुसार मेयर भामले सम्पत्ति विवरण सार्वजनिक गरे

सदरलाइन संवाददाता ३ पुष २०८२, बिहीबार १२:४१
 

नेपालगञ्ज : जेनजीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले उनीहरूलाई सँगै राखेर आफ्नो सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

त्यसकाे भिडिओ उनले आफ्नै फेसबुकमा राखेका छन्, जहाँ सम्पत्ति विवरणको माग गर्ने युवाहरू पनि सँगै छन् । उनले भनेका छन्, ‘युवाहरूले नेतृत्व तहमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग राख्दै निवेदन दिएपछि म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै छु ।’

मेयर भामले गत वर्षको विवरण अद्यावधिक गर्दै सार्वजनिक गरेको विवरण अनुसार उनीसँग मुगु र नेपालगन्जमा गरी ४ वटा घर, विभिन्न ठाउँमा जग्गा र नगद मौज्दात देखिन्छ, जसमा मुगुको भामवाडा गाउँमा आमाको नाममा ७ कोठाको पैतृक घर, गमगढी बजारमा आफ्नो नाममा ८ कोठाको घर र श्रीमती अनिता रावलको नाममा ६ कोठाको घर रहेको छ । त्यस्तै, नेपालगन्जमा ३ तले १६ कोठा भएको घर आमा लालकली भामको नाममा रहेको उनले बताए ।

जग्गाको हकमा साविक कार्कीवाडा गाविसमा ४ दाजुभाइको अंशबन्डा नभएको ४२ हजार ३१३ वर्गमिटर जग्गा, श्रीनगर र साविक पिना गाविसमा आमाको नाममा जग्गा रहेको छ । साथै, रारा ताल्चा विमानस्थलको जग्गा अधिग्रहणबाट प्राप्त मुआब्जा रकमबाट सुर्खेतको लाटीकोइली र बाँकेको नेपालगन्जमा समेत जग्गा खरिद गरेको उनले उल्लेख गरेका छन् । वीरेन्द्रनगरको लाटीकोइलीमा ३६२ वर्गमिटर र नेपालगन्जमा १९४ वर्गमिटर जमिन छ उनको ।

मेयर भामसँग हाल ११ लाख रुपैयाँ बैंक ब्यालेन्स तथा नगद मौज्दात रहेको छ । सुनचाँदी तर्फ १४ तोला सुन (व्यापार, पैतृक र दाइजोबाट प्राप्त) र २० तोला चाँदीका गरगहना रहेका छन् । यस्तै तामाका ११ थान, काँसका २० थान र स्टिलका १०० थान भाँडाकुँडा र लत्ताकपडाहरू पनि सम्पत्तिको रूपमा देखाएका छन् ।

आम्दानीको मुख्य स्रोतका रूपमा नेपालगन्ज र मुगुको घर भाडाबाट मासिक ६५ हजार ५०० रुपैयाँ प्राप्त हुने उनले उल्लेख गरे ।

यस्तै, ताल्चा विमानस्थल जग्गा अधिग्रहणबाट २ करोड ५० लाख रुपैयाँ (भाइ–बन्डा भएको) मुआब्जा प्राप्त गरेको उनले जनाएका छन् । कृषि उपज बिक्रीबाट मात्र वार्षिक ३ लाख ५० हजार आम्दानी हुने र ०६५ देखि ०७६ सालसम्म फेन्सी किराना पसल सञ्चालन गरेको इतिहास पनि उनले पेस गरे । उनले आफ्नो परिवारले प्याज, बन्दा, काउली, आलु, लसुन जस्ता कृषि उपज उत्पादन गर्ने गरेको बताए ।


जनप्रतिनिधिको हैसियतले पाउने मासिक ४० हजार रुपैयाँ पारिश्रमिकलाई उनले मुद्दती खातामा जम्मा गरी त्यसको ब्याजबाट एम्बुलेन्स किन्ने योजना रहेको उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणको अन्त्यमा उनले आफ्नो पारिवारिक पृष्ठभूमि खुलाउँदै बाजे तेजबहादुर भाम साविकको गाउँ पञ्चायतको प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य भएको र बुवा कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुको प्रमुख रहेको उल्लेख गरेका छन् । आफ्नो जन्मस्थान भामवाडा मुगुको अन्न भण्डार भएको र आफूले खाएर बढी भएको अन्न दुःखी गरिबलाई निःशुल्क बाँड्ने गरेको समेत उनले उल्लेख गरेका छन् ।

मेयर भामले निर्वाचित भएपछि कुनै पनि नयाँ घरजग्गा नजोडेको दाबी गरे ।

उनले भने, ‘यदि पदमा आएपछि भ्रष्टाचार गरेर सम्पत्ति जोडेको प्रमाणित भएमा गाउँकै चोकमा आएर मेरा खुट्टा भाँचिदिए हुन्छ ।’ उनले आफू निर्वाचित हुनुअघि सम्पत्ति विवरण सार्वजनिक गरेर मात्र सपथ खाएको पनि बताए ।

साथै आगामी दिनमा पनि पारदर्शिता कायम राख्ने प्रतिबद्धता उनले जनाए ।

‘देशमा मौलाएको भ्रष्टाचार र बेथिति अन्त्यका लागि ‘जेनजी’ हरूले चलाएको अभियान सार्थक हुने विश्वास व्यक्त गर्छु,’ उनले भनेका छन् । आफू पनि युवा जनप्रतिनिधि भएको नाताले युवाहरूको अभियानलाई साथ दिने पनि उनको भनाइ छ । अर्को पटक कार्यकाल सकिने बेला सबै नगरबासीलाई राखेर सम्पत्ति विवरण सार्वजनिक गरेर बिदाइ हुने उनले बाचा गरे ।

उनी यसअघि वडाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् भने श्रमदानबाटै मुगुमा थुप्रै सार्वजनिक संरचना निर्माण गरेका छन्, जसमा प्रतीक्षालय, धाराहरू, पार्कदेखि सडक निर्माण छन् । उनी शनिबार श्रमदान अभियान चलाउँछन्, जहाँ गाउँलेदेखि उनका समर्थकहरू सहभागी हुन्छन् ।

जेनजीहरूले आफूहरूले भनेअनुसार सम्पत्ति विवरण सार्वजनिक गरेर सुशासनमा ऐक्यबद्धता गरेको भन्दै नगरप्रमुख भामलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको काम ९९ प्रतिशत सम्पन्न

३ पुष २०८२, बिहीबार १२:४१
नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । स्थानीयबाट पटकपटक भएको अवरोध र कठिन भूगोलको कारण काममा ढिलाई भएको आयोजनाका अधिकारीको दाबी छ । यसअघिको मंसिरभित्र सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने योजना भने पूरा हुन सकेन । प्रसारण लाइनको बाटोमा पर्ने स्थानीय र आयोजनाबीच […]