गोवाको आगलागीमा ज्यान गुमाएका चार नेपालीको शव फिर्ता ल्याउन पहल गरिँदै

सदरलाइन संवाददाता २२ मंसिर २०८२, सोमबार १५:१८
 

शनिवार उत्तरी गोवाको एउटा नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने २५ जनामध्ये चार जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। गोवा प्रहरीले दिएको विवरणअनुसार ती नेपाली सबै कामदार रहेको दूतावासले जनाएको छ।

भारतीय राज्य गोवामा दशौँ हजार नेपालीहरू खास गरी पर्यटकीय क्षेत्रमा सेवामूलक कार्यमा संलग्न रहेका छन्। सोमवार बिहान सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्माले गोवाको अर्पोरास्थित बर्च बाइ रोमियो लेन नामक नाइटक्लबमा भएको आगलागीमा ज्यान गुमाउने नेपालीहरूका परिवारजनसँग सम्पर्क गर्ने प्रयास भइरहेको उल्लेख गरे।

“चार मृतकको नाम र राष्ट्रियता त्यहाँकै कर्मचारीहरूले पहिचान गरेको आधारमा नेपाली भन्ने खुलेको छ,” दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले बताए। “अहिले हामी गोवा प्रहरीसँग नियमित सम्पर्कमा छौँ। पोस्टमार्टमपछि उनीहरूले शव हस्तान्तरण गर्ने छन्। त्यसका निम्ति मृतकका परिवारजनको हामी अहिले खोजबिन गर्दै छौँ,” थापाले भने।

शव पहिचानपश्चात् नेपाल फर्काउने प्रक्रियामा दूतावासले सहजीकरण गर्ने उनले बताए । शनिवार राति भएको आगलागीमा परी ज्यान गुमाउने २५ मध्ये अधिकांश त्यहाँका भान्सामा काम गर्नेहरू रहेको बताइएको छ। पाँच पर्यटकले पनि ज्यान गुमाएका छन्। घटनामा छ जना घाइते भएको बताइएको छ।


गोवाका प्रहरी महानिर्देशक (डीजीपी) आलोक कुमारले शनिवार मध्यरातमा उक्त घटनाबारे प्रहरीको कन्ट्रोल रूममा खबर आएको बताएका छन्। “धेरैजसो शव रेस्टुराँको किचेनमा भेटिए। आगलागीको कारणबारे जाँच गरिने छ र जस्तो नतिजा आउँछ त्यहीअनुसार कारबाही गरिने छ।”

बीबीसी हिन्दीको विवरणमा उल्लेख भएअनुसार घटनाका एक प्रत्यक्षदर्शी संजयकुमार गुप्ताले आगलागी राति ११ र १२ को बीचमा भएको थियो। “अचानक आगो लाग्यो… म ढोकैमा थिएँ….यहाँ डीजे, डान्सर आउन लागेका थिए र धेरै भिड हुने छाँटकाँट देखिएको थियो…।”  सिलिन्डर पड्किएर आगो लागेको हुन सक्ने प्रहरीले प्रारम्भिक आशङ्का गरेका विवरण आएका छन्। दोस्रो चरणमा क्षतिपूर्तिको प्रक्रियाबारे दूतावासले बुझेर सहजीकरण गर्ने पनि थापाले बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गोवामा भएको आगलागीमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिइने जनाएका छन्। राज्य सरकारका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५०,००० रुपैयाँ दिइने जनाएका छन्।

गोवामा बसोबास गर्दै आएका लोकेन्द्र सेर्पालीका अनुसार त्यहाँ ५०,००० हजारको हाराहारीमा नेपालीहरू बस्दै आएका छन्। “अधिकांश नेपालीहरू पर्यटकीय क्षेत्रमा काम गरिरहेका छन्। श्रमिकहरूका लागि यो एक सुरक्षित र आकर्षक गन्तव्य रहँदै आएको छ। खुला सिमाना हुनाले नेपालीहरू यहाँ आएर काम गर्ने गर्छन्,” प्रगतिशील नेपाली समाज समिति, भारतका अध्यक्ष समेत रहेका सेर्पालीले भने।

भारतमा सहज आवतजावत गर्न सकिने हुनाले निकै लामो समयदेखि नेपालीहरू त्यहाँ विभिन्न क्षेत्रमा रोजगारीका निम्ति जाने गर्छन्। विशेष गरी पश्चिम नेपालबाट भारतमा काम जाने प्रचलन निकै धेरै छ। (बिबिसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा पुनस्र्थापना माग्दै कांग्रेसका केही निवर्तमान सांसदद्वारा सर्वोच्चमा रिट

२२ मंसिर २०८२, सोमबार १५:१८
काठमाडौ : विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनस्र्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूका तर्फबाट रिट निवेदन प्राप्त भएको र यस विषयमा सोमबार छलफलपछि प्रक्रिया अगाडि बढ्ने बताए । विघटित […]