
नेपालगञ्ज : आगामी मङ्सिर २७–२९ सम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनमा नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । सो महाधिवेशनमा २ हजार १ सय २७ जना प्रतिनिधि सहभागी हुने पार्टीले प्रष्ट पारेको छ ।
पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट पारेर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको सङ्ख्याअनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानीमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसम्बन्धी व्यवस्था, पार्टी सदस्यको सङ्ख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ’ डा. अधिकारीले भने, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा सङ्गठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’
एमालेले पठाएको अपानीमा केन्द्रीय कमिटी, तीन वटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचितसहित ४ सय ६४ जना प्रतिनिधि रहने छन् । जसअनुसार केन्द्रीय कमिटीबाट ३ सय ५५, अनुशासन आयोग २९, निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुने छन् ।
यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेशसहित) का कमिटीबाट कम्तिमा दुई जना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले सङ्घीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ ।
यसरी १ सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १ सय ३५ जना प्रतिनिधि सहभागी हुने छन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २ सय पार्टी सदस्य बराबर ४० वर्ष मुनिका एकजना युवा र एकजना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् ।
सङ्घीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानीमा भनिएको छ ‘न्यूनतमा १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८–८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने छन् । सोभन्दा बढी भएमा पहिलो ८ सयमा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने छन् ।’

अपानीका अनुसार स्वदेशका विशेष जिल्ला अन्तर्गत १ हजार २ सय जनासम्म पार्टी सदस्य बराबर कम्तिमा एक महिलासहित तीन जना निर्वाचित प्रतिनिधि रहने छन् । (सदस्य सङ्ख्या ८ सय नाघेमा प्रत्येक ८ सयमा थप एक, यस्तो सङ्ख्यामा कम्तिमा एक तिहाइ महिला सुनिश्चित गर्ने) यसरी विशेष जिल्ला अन्तर्गत करिब ४७ जना निर्वाचित प्रतिनिधि सङ्ख्या रहने जनाइएको छ ।
एमाले महाधिवेशनमा दलित आरक्षण अन्तर्गतका प्रतिनिधि कम्तिमा ८१ जना रहने छन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५ सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीन जना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तिमा एक जना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ ।
श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जसअनुसार हरेक भूगोलका सात वटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तिमा तीन जना महिलासहित ७ जनाका दरले प्रतिनिधिहरू निर्वाचित भएर आउने छन् ।
एमालेका प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तिमा तीन जना महिलासहित १० जना, अमेरिका, क्यानाडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिलासहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानीमा जनाइएको छ ।
केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरू मध्येबाट एक–एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । यस्तै, केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ। पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसूची एक र महासङ्घीय संरचनामा भएका जनसङ्गठनबाट कम्तिमा तीन जना महिलासहित ७ जना प्रतिनिधि हुने छन् ।
यस अन्तर्गत खेलकुद महासङ्घ, किसान महासङ्घ, अनेरास्ववियु, युवा सङ्घ नेपाल लगायतका ११ जनसङ्गठन छन् । अनुसूची २ अन्तर्गतका १२ वटा जनसङ्गठनबाट कम्तिमा दुई महिलासहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसङ्गठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन्’ पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भन्नुभयो ।
यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको सङ्ख्या २ हजार २६ जना हुने छन् । एमालेको विधानअनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जसअनुसार पार्टी सचिवालयले १ सय १ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको सङ्ख्या २ हजार १ सय २७ हुने एमालेले जनाएको छ ।


