मिडियाको अन्तराष्ट्रिय संस्था जिएफएमडीको उपाध्यक्षमा नेपालका पन्त

सदरलाइन संवाददाता ७ मंसिर २०८२, आईतवार १४:४५
 

काठमाडौँ :  ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट जिएफएमडीले नेपालका प्रतिष्ठित मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । यससँगै विश्व मञ्चमा नेपालको मिडिया क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि स्थापित भएको छ ।

गत मंसिर ४ गते मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका दौरान बसेको जिएफएमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई आगामी ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्षको रुपमा पन्त नवनिर्वाचित अध्यक्ष रावान दामेन, कोषाध्यक्ष क्यारोलिन व्युलेमिन तथा स्टीयरिङ कमिटीका अन्य सदस्यहरूसँग मिलेर मिडिया विकास, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र सूचना विश्वसनीयतामाथि बढ्दै गइरहेका जोखिमबीच विश्व मिडिया समुदाय सुदृढ गर्न काम गर्नेछन् ।


उपाध्यक्षमा निर्वाचित भएसँगै पन्त विश्वकै सबैभन्दा ठूलो मिडिया विकास संस्थाहरूको सञ्जालको नेतृत्वमा प्रवेश गर्ने पहिलो नेपाली बनेका हुन् । उपाध्यक्षमा निर्वाचित पश्चात् पन्तले स्टीयरिङ कमिटीको पहिलो औपचारिक बैठकको अध्यक्षता गरे । सो अवसरमा पन्तले “स्थानीयदेखि विश्वव्यापी सहभागितालाई प्रतिबिम्बित गर्ने सस्था र विज्ञसँग मिलेर चुनौतीपूर्ण अवस्थामा समेत मिडिया समुदाय सुदृढ बनाउन काम गर्ने” प्रतिबद्धता व्यक्त गरे । नव–निर्वाचित अध्यक्ष दामेन अनलाइनमार्फत बैठकमा सहभागी भएकी थिइन् ।

वैश्विक स्तरमा परिचित नेपाली मिडिया अधिकारकर्मी र सञ्चारविद् पन्तसँग पत्रकारिता, प्रेस स्वतन्त्रता प्रवद्र्धन, अनुसन्धान, नीतिगत संलग्नता, र परियोजना व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले २०१५ मा स्वतन्त्र र उत्तरदायी पत्रकारिता प्रवद्र्धनका लागि मिडिया एक्सन नेपालको स्थापना गरेका हुन् ।

उनको नेतृत्वमा सो सस्था मीडिया फ्रीडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क, आकोस अलायन्स, जिएफएमडीलगायतका प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूको सक्रिय सदस्य बनेको छ । २०२२–२०२४ सम्म कन्सल्टेटिभ नेटवर्कको निर्वाचित सह–अध्यक्षको रुपमा पन्तले ५१ मुलुक, १५० भन्दा बढी नागरिक समाज संस्थाहरू तथा प्रेस स्वतन्त्रतामा संलग्न विश्वस्तरीय निकायहरूबीच साझेदारी मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी र कर्णालीका पत्रकारहरुका लागि चारदिने रक्षा संवाददाता अभिमुखीकरण सुरु

७ मंसिर २०८२, आईतवार १४:४५
सुर्खेत  : नेपाली सेनाको उत्तर–पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाका विभिन्न संचार माध्यममा आबद्ध रहेका सञ्चारकर्मीहरु सहभागी रहेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुर्खेतमा सुरु भएकोे छ । उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका ८ जिल्ला र लुम्बिनीका २ जिल्लामा विभिन्न सञ्चार माध्याममा आवद्ध आवद्ध २४ (चौबिस) […]