
सुर्खेत : नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरमा गत सोमबारदेखि सुरु भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको सम्पन भएको छ
पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका र विविध गतिविधिहरूका बारेमा सुसूचित गर्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा लुम्बिनीका दुई (बाँके र बर्दिया) र कर्णाली प्रदेशका आठ (डोल्पा, जुम्ला, हुम्ला, दैलेख, मुगु, जाजरकोट, कालिकोट, सुर्खेत) जिल्लाका २४ जना सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि तथा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेशजंग शाहले यस कार्यक्रमबाट लुम्बिनीसँगै कर्णालीका विभिन्न जिल्लामा कार्यरत सञ्चारकर्मीहरूलाई रक्षा क्षेत्रसम्बन्धी समाचार संकलन र सम्प्रेषणमा थप सहजता, स्पष्टता र विश्वसनीयता स्थापित हुन मद्दत पुग्ने बताए ।

सो अवसरमा पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका कर्णाली र लुम्बिनीका गरी ९ वटा एफएम रेडियो स्टेसनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयका तर्फबाट नगद प्रोत्साहन तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले चारदिने अभिमुखीकरण कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनासम्बन्धी भूमिका र संरचनाबारे विस्तृत जानकारीसहित विपद् प्रतिकार्य, समसामयिक विषयवस्तुबारे जानकारी, नेपाली सेनाले गरेका विकास निर्माणका काम, एकआपसमा अन्तरक्रिया तथा स्थलगत अध्ययन–भ्रमणमार्फत व्यावहारिक अनुभव हासिल गरेको बताए ।
नेपाली सेनाले केन्द्रीयस्तरदेखि सबै पृतनास्तरसम्म प्रत्येक वर्ष सञ्चारकर्मीलाई रक्षा क्षेत्रसम्बन्धी समाचार संकलन र सम्प्रेषणमा थप सहजता, स्पष्टता र तथ्यपरकता प्रदान गर्ने विश्वास सहित अभिमुखीकरण कार्यक्रममको आयोजना गर्दै आइरहेको छ ।
उप सेनानी सृजना नेपालले सञ्चालन गरेको कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई समेत विशेष रूपमा उजागर गरेको थियो ।


