
दाङ्ग : नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन्जीलाई आन्दोलनका नाममा अघिसारेर न्यायालय र प्रहरी माथि आक्रमण भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले घोराहीमा बिहीबारआयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको उनको टिप्पणी छ ।

‘जेन–जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै थिएन ।’ उनले भने–‘यो कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो ।’ जेन्जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थीतत्वको घुसपैठ भएको दाबी गरे ।
२३ गते घटना भए पनि २४ गते सबै सुरक्षा निकाय अलआउट हुँदा समेत न्यायालय र प्रहरी माथि धेरै आक्रमण भएको पोखरेलले भनाई थियो । ‘२४ गते सरकारले दमन पनि गरेन । गोली पनि चलेन तर, त्यही दिन सबैभन्दा बढी मानविय र अन्य क्षेति भयो । के कारणले भयो ? यसको कुनै लेखाजोखा र सत्यतथ्य छानबिन नगरीकन अघि बढ्ने कुरा हुन्छ र ?’
त्यसैगरी उनले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत बताए । नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गर्दै आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।


