
काठमाडौं : नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न तीब्र दबाब बढेको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले खुलेर आफ्ना कुरा राख्दै यस्तो दबाब सिर्जना गरेका हुन् । उनीहरुले अध्यक्ष केपी ओलीलाई अभिभावकको भूमिकामा बस्न पनि सुझाएका छन् ।
अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्दै जारी बैठकमा रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले विद्या भण्डारीको सदस्यता खोल्न र ओलीले मार्ग प्रशस्त गरेर अभिभावकत्व लिन आग्रह गरेका छन् ।
बैठकमा हिजो बोल्नेमध्ये केही नेताहरूले पनि पूर्व राष्ट्रपति विद्याको सदस्यताको कुरा उठाएका बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।

जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । अध्यक्ष ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले अब नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए । उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई आग्रह गरेका छन् ।
यद्यपि, केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
उनले फेसबुकले आफ्नो राजीनामा माग्दैमा नदिने भन्दै महाधिवेशनबाटै छिनोफानो गर्ने प्रस्ट सन्देश दिइसकेका छन् । बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई ३ मिनेट समय दिइएको छ । नेताहरूलाई लिखित बुझाउन आफ्नो कुरा बुझाउन पनि सक्नेछन् ।


