तिहार सुरु : आज कागतिहार

सदरलाइन संवाददाता २ कार्तिक २०८२, आईतवार ११:२८
 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज (कात्तिक २) बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमिठो चिजबिज खान दिएर मनाइँदै छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन कागतिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर पूजा–आराधनासहित मिठोमिठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मिठो लाग्ने हुन्छ । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने मानिन्छ । त्यसैले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।


यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा–आराधना हुने गर्छ ।

यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा–आराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।

यसैगरी, लक्ष्मी स्थिर राख्नका निम्ति गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सरकारले संयुक्त पेट्रोलिङ सुरु गर्ने

२ कार्तिक २०८२, आईतवार ११:२८
नेपालगञ्ज : सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् सुरक्षाको योजना […]

सम्बन्धित