
नेपालगञ्ज : सीमावर्ती रूपैडिहामा रहेको भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) को ४२औँ वाहिनी र भरतीय प्रहरीको संयुक्त टोलीले १२ ग्राम ७१ मिलीग्राम ब्राउन सुगरसहित एक नेपालीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छन ।
रुपैडिहाका थाना प्रभारी रमेश सिंह रावतका अनुसार सीमा क्षेत्रमा गस्ती गर्दै गर्दा टोलीले पिलर नम्बर ६५÷११ बाट करिब १०० मिटर टाढा, सीमान्त डिग्री कलेजतर्फ वर्थनवाबाट आउँदै गरेको एक व्यक्ति शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट १२ ग्राम ७१ मिलीग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको छ ।
सो ब्राउन सुगर सहित भारतीय प्रहरीको नियन्त्रणमा परेका नेपालगञ्ज –१८ का २० वर्षिय दिपेन्द्र वर्मा रहेको भरतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीको नियन्त्रणमा रहेका बर्माविरुद्ध थाना रूपैडिहामा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायालय पठाइएको छ ।

पक्राउ टोलीमा रूपैडिहा चौकी इन्चार्ज सीतापुरवा जितेश कुमार सिंह, हेड कांस्टेबल देवेन्द्र यादव, अभिषेक धर द्विवेदी, एसएसबी टोलीका सहायक उपनिरीक्षक विप्लव कुमार घोष, हेड कांस्टेबल मुत्थु सेल्वा, कांस्टेबल आर बाला राजू र डग ह्यान्डलर गुरुदेव डांग मीका (७८१) सहभागी रहेको जनाईएको छ ।
भरतको सीमावर्ती शहर रुपैडिहामा खुला रुपमा नै ब्राउन सुगर तथा प्रतिबन्धित लागू औषध नाईट्रोजेपाम, ट्रामाडोल, कोरेक्सलगायतको खरिद विक्रि हुने हुँदा नेपाली युवाहरु यसको लतमा फस्ने गरेको पाईएको छ ।




