
नेपालगञ्ज : कात्तिकको दोस्रो सातामा नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरिदै छ । नेपालगञ्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो ।
नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा हुने प्रतियोगिताबारे क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सो जानकारी दिएको हो । क्लवका अध्यक्ष केशवराज न्यौपानेले सो प्रतियोगितामा देशभरीका २ सयबढी खेलाडीको सहभागिता रहने बताए ।
उनले विद्यालय लक्षित सो प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा गर्न सकिने बताए । अध्यक्ष न्यौपानेका अनुसार कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

सो प्रतियोगितामा अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।
बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।
नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए ।


