विपिन जोशीको शव आज काठमाडौं ल्याइँदै

एजेन्सी ३ कार्तिक २०८२, सोमबार १३:५७
 


विपिन जोशीको शव आज काठमाडौं ल्याइँदैछ। इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइने भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेले क्षेत्रीका अनुसार विपिनको शव बोकेको जहाज दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ।

विमानस्थलमै दिउँसो छोटो श्रद्धाञ्जली कार्यक्रम पनि तय भएको उनले बताए। श्रद्धान्जलीका लागि प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। विपिनको शव कञ्चनपुरस्थित उनकै घरमै पुर्‍याइदिनका लागि नेपाली सेनाले सहजीकरण गर्ने तय भएको पनि मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिए।

‘दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छ भनिएको छ। शव परिवारको जिम्मा लगाएपछि सेनाले विपिनको घरसम्मै पुर्‍याइदिने तय भएको छ,’ उनले भने। कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी किब्बुज आलुमिमबाट उनलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो। त्यसयता उनको स्थिति अज्ञात थियो। दुई साताअघि इसराइल र हमासबीच युद्धविराम सहमति भएपछि उनी जीवितै फर्कने आशा गरिएको थियो।


बन्धकहरू फिर्ता गर्ने अघिल्लो दिनमात्रै इसराइली सेनाले विपिन जीवित नरहेको भनेर नेपाली दूतावास र परिवारलाई जानकारी गराएको थियो। गत मंगलबार हमासले विपिनको शव इसराइललाई हस्तान्तरण गरेको थियो। डिएनए परीक्षणमा शव उनकै रहेको पुष्टि भएको थियो।

डिएनए परीक्षणबाट उनको मृत्यु बन्धक बनाएर गजा पुर्‍याएको एक महिनामै भएको खुलेको थियो। इसराइल र हमासबीच पटकपटक युद्धविराम हुँदा विपिनको रिहाईका लागि सरकारले कतार लगायत विभिन्न मुलुकमार्फत पहल गरेको थियो। यद्यपि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

तेस अविभमा आइतबार विपिनप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। त्यसपछि शव नेपाल पठाइएको हो। विपिनका परिवार काठमाडौंमै रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चहलपहल वारी, उपभोक्ता सीमापारी

३ कार्तिक २०८२, सोमबार १३:५७
नेपालगञ्ज : तिहार नजिकिँदै गर्दा नेपालगञ्जस्थित भारतीय सीमावर्ती बजार रुपईडिहा बजारमा नेपाली उपभोक्ताको भिड बढ्दै गएको छ । दसैँदेखि नै सुरु भएको चहलपहल अहिले थप बढेको छ । दिनभर रुपईडिहा बजार भिडभाडले भरिने गरेको छ । रुपईडिहाको यो बजार अहिले नेपाली ग्राहकले धानेको छ । यो समयमा खाद्यान्नदेखि कपडासम्मका सामान […]