दबाब र प्रभावमा नपरी सेवा प्रवाह :  बाँके प्रहरी प्रमुख जिशी

सदरलाइन संवाददाता १२ आश्विन २०८२, आईतवार १५:३०
 

नेपालगञ्ज :  बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अंगुर जिशीले आफु कसैको दबाब र प्रभावमा नपरी नागरिकलाई सेवा प्रवाह गर्ने बताएका छन । केही दिन अघिमात्र जिम्मेवारी सम्हालेका उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

उनले नेपाल प्रहरीको बिधि विधानमा रहेर सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा प्रदान गरिने बताए । ‘म कसैको दवाव र प्रभावमा पर्दैन । मबाट कुनै कमी कमजोरी भए कार्यालयमा आएर गुनासो टिपाउनु होला,’ उनले भने ।

उनले नेपालगञ्जका विभिन्न टोलटोलमा सूचना टाँगेर चोरी गर्न आउने हल्ला फैलाइएको बताउँदै यसमा कुनै सत्यता नभएको र त्यता तिर नलग्न अनुरोध गर्दै भने–‘चोरको बिगबिगी भएको हल्ला सुनेपछि यसको अनुसन्धानमा म हिडे । रातभर हिड्दा समेत कहीं कतै केहि फेला पार्न सकिएन । यो सबै अशान्त र भयत्रास फैलाउनेहरुको काम हो । शान्ति, सुरक्षाको लागि प्रहरी तैनाथी छ ।’

उनले मुख्य चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा योजना तयार पारेको बताए । विशेष गरेर दसैं, दिपावली र छ्ठलाई लक्षित गर्दै तयार पारिएको सुरक्षा योजना अनुसार ११ सय प्रहरी परिचालन गरिएको जानकारी दिए ।


बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार चाडपर्वमा हुन सक्ने चोरी लगायतका घटनालाई निस्तेज पार्न मोटरसाइकल तथा विभिन्न स्थानमा पौदल गस्ती सुरु गरिएको, दुर्घटना नियन्त्रणका लागि बाँके जिल्लामा अधिकांश ठाउँमा चेक प्वाइन्ट राख्न सुरु गरिएको छ ।

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुन सक्ने बाँके प्रहरीले अनुमान गरेको छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुन सक्ने प्रहरीको विश्लेषण छ । बाँके प्रहरीले जिल्लाभरका सबै युनिटलाई नियमित गस्तीमा खटिन निर्देशन समेत दिइसकेको बताएको छ ।

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुन सक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्ने गरी सुरक्षा योजना तयार गरिएको डीएसपी पातलीले बताए । उनले भने, ‘पर्वहरूमा हुन सक्ने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएर लागू गरेका छौं ।’

चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्ने ठाउँहरूमा सुरक्षा प्रदान गर्ने गरी योजना तयार गरिएको छ । त्यस्तै जुवा विरुद्ध पनि छुट्टै टोली परिचालन गरिसकेको डीएसपी पातलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बागेश्वरी मन्दीरमा फुलपाती भित्र्याईयो

१२ आश्विन २०८२, आईतवार १५:३०
नेपालगञ्ज : हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, […]