
नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् ।व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन ।
‘मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखेँ । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, चौधरीले भने, ‘तर व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न सकेन ।’
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुश्मनी नरहेको जिकिर गर्दै उनले पार्टीमा रहेका फटाहाहरूको कारण व्यक्तिगत रूपमा अल्मलिनुभन्दा बाटो बद्लेको बताए ।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा भएको आन्तरिक विवादलाई आफूले सम्झन पनि नचाहेको उनले उल्लेख गरेका छन् । चौधरीले भने, ‘बरु म जेलमा हुँदा दुई घण्टा भए पनि निदाए तर, बाहिर सकेन । कयौं रात अनिदो बितेका छन् ।’
आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उनले आजको दिनबाट नयाँ दल र सङ्गठन निर्माणमा जुट्ने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने र त्यसको चुनाव चिन्ह पहिचानकै रहने उल्लेख गरेका छन् । आफूलाई राजनीति गर्ने अधिकार रहेको भन्दै उनले आफ्नो आन्दोलन र भावनालाई बुझ्नेहरू मात्र आफूसँगै रहने बताए । उनले भने,‘मलाई ठग होइन, मेरो पार्टी र पहिचानको आन्दोलन बुझ्ने कार्यकर्ता चाहिएको छ ।’
टीकापुर घटनामा दोषी ठहर भई रेशम जेलमा रहेको बेला २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । स्थापनाको छोटो समयमै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले अपल्पनीय जित हात पारेको थियो ।


