
नेपालगञ्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध देशभर भड्किएको ‘जेनजी’ आन्दोलनका विषयमा छलफल गर्न आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक तय भएको छ ।
सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आज दिनभर देशभरका युवा सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमार्फत सक्रिय रहने ‘जेन जी’ पुस्ताको नेतृत्वमा भएको प्रदर्शनमा ठुलो सङ्ख्यामा युवा सहभागी भएका छन् । प्रदर्शन हिंसात्मक बन्दा काठमाडौंमा केही युवाको ज्यान गएको छ ।
बैठकमा आजको आन्दोलनको प्रभाव, विपक्षी दलको दबाब र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसले पनि सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

यसअघि दिनभर काठमाडौं उपत्यकासहित विभिन्न सहरमा भएको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिन प्रयास गरे पनि ठुलो सङ्ख्यामा युवाहरू निरन्तर सडकमा रहँदै सरकारको निर्णय फिर्ता गर्न माग गरिरहेका छन् । उनीहरूले ठाउँ ठाउँमा तोडफोड र आगजनी गरेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ ।
यसैबीच काँग्रेसले पनि सो घटनाक्रम पछि आकस्मिक रुपमा पदाधिकारी पूर्वपदाधिकारीहरुको बैठक बस्ने तयारी गरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बैठक बस्ने गरी तयारी गरिएको जनाईएको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध देशभर युवाहरु प्रर्दशनमा उत्रिदा काठमाण्डौ, पोखरा, भैरहवामा स्थिति उग्र भएर झडप भए पनि अन्य स्थानमा भने प्रर्दशन शान्तपूर्ण रहेको थियो । समाचार तयार पार्दासम्म सो घटनामा परेर १६ जनाले ज्यान गुमाई सकेका छन् ।


