
दाङ : लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने गरि तयारी अगाडि बढाईएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन् । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।

कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन । ‘सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ । पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ’–उनले भने–‘कर्मचारीहरु मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ ।’
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदायस्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिका प्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरेका छन् ।
प्रदेश सरकार मातहत रहेका जिल्ला तहका कार्यालयहरू, चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा समेत आगजनी भएको छ भने यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिव स्तरबाट अनुगमन गरिएको थियो ।


