
नेपालगञ्ज : जमुनाह नाका हुँदै दशै तिहार मानाउन डेढ लाखबढी नेपाली फर्किएका छन् । नजिकिदै गरेको बडा दशै तिहारलगायतको पर्व मनाउने उद्देश्यले भारत गएकाहरु धमाधम फर्कन थालेका छन् ।
दशै मनाउने उदेश्यले यसरी नेपाल फर्कनेहरुको नेपाल–भारत सीमा क्षेत्रको जमुनाहमा निक्कै घुईचो नै लाग्ने गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १३ गतेसम्म जमुनाह नाका हुँदै १ लाख ५३ हजार ६ सय ५१ जना नेपाल फर्किएका हुन् ।
यसवर्षको दशैलगायतको पर्व मनाउनको लागि जमुनाह नाका हुँदै असोज १ गतेदेखि १३ गतेसम्म ६५ हजार ६ सय ३० पुरुष, ५४ हजार ५९ महिला र ३३ हजार ९ सय ६२ बालबालिका गरी १ लाख ५३ हजार ६ सय ५१ जना नेपाल प्रवेश गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बुढाथोकीले जानकारी दिए ।

उनले सो अवधिमा जमुनाह नाकाबाट ९४ हजार २ सय ३ जना भारत गएको पनि बताए । प्रहरीले पर्वलक्षित यात्रु साहेता कक्ष स्थापना गरेको कारण सीमा क्षेत्रमा आउने यात्रुहरुको लागि सहज भएको छ । बाँके प्रहरीले पर्व लक्षित सुरक्षा हेल्प डेस्क स्थापना गरेर यसरी आउने यात्रुहरुका लागि सहज बनाएको छ ।
खेतीपाति लगाएर दशैको जोहो गर्ने उद्देश्यले भारतको सिमला पौरी पुगेर ४ महिना कमाई गरी फर्केको सुर्खेत कल्याणका कुलबहादुर परियार बताउछन् ।
उनले भने–‘ यता खेती लगाएर जेठको महिना गएको हुँ । अलिअलि कमाई गरी दशै मान्न आएको छु ।’ उनले दशै जस्तो पर्वको बेलामा घरपरिवारको साथमा रहेर मनाउन पाउनु नै खुशीको कुरा भएको बताए ।
यसैगरी भारतको पटनामा भारतीय सैन्यमा जागिरे अवस्थामा रहेका सुर्खेत चिसापानीका दिपक सिजाली पनि दशै मनाउने उद्देश्यले जमुनाह नाका हुँदै नेपाल आएका छन् । उनले सिमा क्षेत्रमा रहेको हेल्प डेस्कका कारण सहज भएको बताए ।



