माईती नेपालद्वारा नेपालगञ्ज नाकाबाट एकवर्षमा ५ सयबढी जोखिमपूर्ण यात्रामा रहेकालाई गरियो उद्दार

सदरलाइन संवाददाता १९ भाद्र २०८२, बिहीबार १८:५८
 


नेपालगञ्ज : मानव बेचविखन बिरुद्ध सक्रिय रहेको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले बेचविखनको जोखिमपूर्ण यात्रामा रहेका ५ सय बढीलाई नेपालगञ्ज नाकाबाट उद्दार गरेको जनाएको छ ।

माइती नेपाल नेपालगञ्जको आयोजनामा आर्थिक बर्ष २०८१/८२ मा गरेका गतिविधिहरुको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै क्षेत्रीय संयोजक केशब कोइरालाले पछिल्लो एक बर्षको तथ्यांक प्रस्तुत गर्दा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय १२ लाई उद्दार गरेको जानकारी दिए ।

माइती नेपाल नेपालगञ्जका संयोजक कोईरालाले भारतका विभिन्न स्थानबाट यो एक वर्षमा १४ जनाको उद्दार गर्न सफल भएको बताए । उनले भने–‘ यो वर्ष हामीले भारतका विभिन्न स्थानमा बेचविखनमा परेका १४ जनालाई उद्दार गरी नेपाल ल्याउन सफल भएका छौ ।’

उनले भारतबाट उद्दार गर्न भन्दा पनि उद्दार गरेर नेपाल फर्काईएका उनीहरुको सामाजिक पुनरमिलनमा निक्कै चुनौति भएको बताए । उनले यो वर्ष माइती नेपालमा ८ सय १७ वटा खोजतलासको निवेदन परेको र त्यसमध्ये ४ सय ३७ जना फेला परेको जानकारी दिए ।


माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकालाई नाकामै रोकेर अभिभावकको जिम्मा लगाउने, विभिन्न दिवसहरुमा नाकामा जनचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने, सडक नाटक देखाउने, अन्तरदेशीय कार्यशाला गर्दै आएको छ ।

माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले खोजतलास तथा उद्दारका लागि धेरै निवेदन आउने र भारत तथा तेस्रो मुलुकबाट उद्दार गर्नुपर्ने हुँदा त्यहाँ सरकारी संयन्त्र नहुँदा उद्दारमा समस्या हुने गरेको बताए । उनले भारतबाट त्यहाँको संघ संस्थाको सहयोग लिएर उद्दार गर्ने गरेको जानकारी दिए ।

मानव बेचबिखन संगठित अपराध भएकाले यसलाई रोक्न सरकारी तथा गैरसरकारी संघ संस्थाको हातेमालो आवश्यक रहने कुरामा जोड दिदै जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले यसका बिरुद्ध सबैको हातेमालो हुन आवश्यक भएको औल्याईन ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातली, नेपालगञ्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी, महिला विकास अधिकृत आशा शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अधिकारकर्मी कमला पन्त लगायतले सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढाएको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘अन्तरप्रदेश सहकार्य बिना पर्यटन प्रबर्द्धन हुन सक्दैन’

१९ भाद्र २०८२, बिहीबार १८:५८
नेपालगञ्ज : लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले अन्तरप्रदेश समन्वय र सहकार्य बिना पर्यटन क्षेत्रको प्रबर्द्धन हुन नसक्ने कुरामा जोड दिएका छन । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगञ्जमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा औल्याएका हुन । […]