राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने लुम्बिनीका मुख्यमन्त्रीको भनाई

सदरलाइन संवाददाता ५ आश्विन २०८२, आईतवार १६:२८
 

 

दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गर्दै राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताएका छन् ।

आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गर्दै यस्तो बताएका हुन ।

तुलसीपुर उपमहानगरपालिका, उच्च अदालतदेखि आगजनीमा परेका सबै सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा पुगेर अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले टेन्ट टाँगेर भएपनि सेवा प्रवाहलाई अगाडि बढाइने बताए । उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरेको जानकारी दिए ।

‘जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्नेगरी आगजनी गरियो । यो घटनाले ठूलो नोक्सानी भएको छ’ सञ्चारकर्मीहरुसँगको कुराकानीमा मुख्यमन्त्री आचार्यले भने, ‘प्रत्यक्ष नागरिकको दैनिक कामसँग जोडिएका कार्यालयहरु खरानी भएका छन् । जसबाट सेवा प्रवाह गर्न कठिनाई हुने निश्चित छ । मालपोत कार्यालय, नापी कार्यालय जलेका छन् । ती कार्यालय जल्दा धेरै महत्वपूर्ण कागजपत्र पनि खरानी बने । अब पुनः कागजपत्र बनाउन निकै दुःख हुने देखिन्छ ।’

राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताउदै उनले भने‘टेन्ट टाँगेरै भएपनि सेवा अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । सबै कार्यालयहरुमा पुगेर कर्मचारीहरुको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पु¥याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेका छौं ।’


जेन्जीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले निन्दा पनि गरे । अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्ष लगायतको उपस्थिती थियो ।

मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजश्व कार्यालय, भू–तथा जलाधार लगायतका कार्यालयको अनुगमन गरेका थिए ।

भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले यसअघि नै सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैको घटस्थापनाको दिन बागेश्वरी मन्दीरमा विषेश चहलपहल सुरु

५ आश्विन २०८२, आईतवार १६:२८
नेपालगञ्ज :  हिन्दू समुदायको महान पर्व बडा दशैको अवसरमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्नको बागेश्वरी मन्दिरमा विषेश चहल पहल सुरु भएको छ । आज घटस्थापनाको दिन विहानै स्नानगरी मन्दिरमा माता बागेश्वरीको दर्शन गरी नवरात्राभर निराहर ब्रत बस्ने चलन रहेको कारण भक्तजनहरुको विषेश भिड रहने मन्दिरका मुल पुरोहित चन्द्रनाथ योगीले जानकारी […]