
नेपालगञ्ज : संविधान दिवशकै अवसरमा बाँकेमा रहेका विभिन्न पेशागत संघसंगठनहरुले संविधान दिवशमा ‘११ औं संविधान दिवसमा बदलिदो परिस्थितिमा नागरिकको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियाका सहभागिहरुले संविधान शोधनको अनेक प्रावधान रहेकाले नेपालको संविधान–२०७२ को विकल्प खोज्न नसकिने नेपालगञ्जका सम्बद्ध सरोकारवालाले जोड दिएका छन् ।
उच्च अदालत बार एशोसियशन नेपालगञ्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली जनता आफैले लेखेको संविधान उत्कृष्ट भए पनि केही असन्तुष्टीका कुरालाई संशोधन गर्न सकिने कुरामा जोड दिएका हुन ।

जेन–जी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको र संविधानमा जेन–जी पुस्तालाई समेटेर मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने सुझाव आएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, अधिकारकर्मी प्रकाश उपाध्याय, नरेन्द्र जंग पिटर, अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता सुनिता शर्मा, मोहम्मद अयुव सिद्दिकी, अधिकारकर्मी कमला पन्तलगायतले संविधानमा रहेका विमतिलाई संशोधन गरी सबैको भावना समेट्ने बनाउनु पर्नेकुरामा जोड दिएका थिए । सो कार्यक्रममा नेपालगञ्जका नागरिक अगुवा, कानुन ब्यवसायी, पत्रकार, अधिकारकर्मी, बुद्धिजिवी लगायत उपस्थित रहेको थियो ।


