आज जनै पूर्णिमाः तागाधारीले यज्ञोपवीत धारण गर्दै, तराईमा राखी लगाउदै

सदरलाइन संवाददाता २४ श्रावण २०८२, शनिबार ०९:०१
 

नेपालगञ्ज :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर, तराई क्षेत्रमा राखी बाँधेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको हो

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।


क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदको मान्यता छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने विश्वास गरिन्छ ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।

काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।

यसैबीच नेपालगञ्जको बागेश्वरी मन्दीरमा भने भिडभाड बढेको छ । आज रक्षा बन्धन तथा जनैपूर्णिमाको दिन नेपालगञ्जको बागेश्वरी मन्दीरमा दर्शनार्थीहरुले नाडीमा यज्ञ पवित्रो (डोरो बाँध्न) र नयाँ जनै फेर्न आउनेको भिडभाड रहेको हो ।

नेपालगञ्जको बागेश्वरी मन्दीरमा बिहानैदेखि जनै मन्त्रोच्चारण गराउन र फेर्न आउनेहरुको भिड रहने गरेको छ । मन्दीरमा रहेका पुरोहित तथा ब्राहमणहरुलाई हातमा डोरी बाँधिदिन र जनै दिनको लागि चापाचाप रहेको छ ।

बाँकेमा रहेका विभिन्न मठ मन्दिरमा आज रक्षाबन्धन बाँध्ने र जनै लगाउनेहरुको विषेश भिडभाड रहने गरेको छ । नेपालगञ्जमा आजैको दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाईको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै हातमा विषेश डोरी (राखि) बाध्ने चलन समेत रहेको छ । यो पर्वले दिदीबहिनी र दाजुभाईका बीचमा स्नेह प्रगाढ हुने विश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राखी बाध्दै मुख्यमन्त्री आचार्यले भने : सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रूपान्तरण सम्भव छ

२४ श्रावण २०८२, शनिबार ०९:०१
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रुपान्तरण सम्भव रहेको बताएका छन् । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय बुटवलमा शनिबार आयोजित रक्षा बन्धन महोत्सवमा राखी बाँधेपछि सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक चिन्तनले नै समाजलाई गतिशील बनाउने विश्वास व्यक्त गरेका हुन । ‘समाजमा सकारात्मक […]