लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस विविध कार्यक्रम गरेर मनाइने तयारी

सदरलाइन संवाददाता १२ भाद्र २०८२, बिहीबार १२:४९
 

दाङ : लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने गरी तयारी गरिएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो ।

प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाइ, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभात फेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले भदौ २० गते बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायसँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।


सोही दिन दिउँसो १ बजे ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम राखिनेछ । त्यस्तै, भदौ २१ गते बिहान ७ बजे प्रशासनिक परिसर क्षेत्रमा वृक्षारोपण गरिने, सोही दिन बिहान ८ बजे सरसफाइ कार्यक्रम गरिने, भदौ २० र २१ गते खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।

यस्तै भदौ २२ गते प्रशासनिक सङ्घीयता सम्बन्धी परिसंवाद, सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी, ब्यान्ड बाजासहित प्रभातफेरी हुने निर्णय भएको मुख्यमन्त्री कार्यालयका सचिव कवीन्द्र नेपालले जानकारी दिए ।

भदौ २२ गते बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह आयोजना गरिनेछ । सो अवसरमा प्रदेश निजामती सेवा पुरस्कारसमेत प्रदान गरिनेछ । यस्तै, दिवसको अवसरमा भदौ २०, २१ र २२ गते आ–आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डडेलधुरा र सल्यानमा भएको छुट्टाछुट्टै दुर्घटना हुँदा ४ को मृत्यु, १९ घाइते

१२ भाद्र २०८२, बिहीबार १२:४९
नेपालगञ्ज :  बिहीबार डडेलधुरा र सल्यानमा भएकोे छुट्टाछुट्टै सडक दुर्घटनामा परेर ४ को मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् । डडेलधुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ः०० बजेको समयमा से १ज ७३८ नं. को जिप […]

सम्बन्धित