
विराटनगर : कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन गरि सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनमा सहजिकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो ।
प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजिकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिपेक्ष्यमा कार्यालय सञ्चालनमा ल्याईएको बताए ।

उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै भने–‘कुन कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजिकरण गर्नेछ ।’
प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो ।
कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अरब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८% सफलता हासिल गरेको थियो । चालु आबमा कोशी प्रदेश सरकारले ५ अरब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेश सभाका सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मुख्यमन्त्रीको आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।


