
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन गर्दै पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत दिशातर्फ गएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले समाजलाई सही ढंगले अगाडि बढाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताएका हुन ।
पत्रकारहरूकै योगदानका कारण अहिलेको व्यवस्था आएको चर्चा गर्दै यो व्यवस्थालाई बलियो बनाउनका लागि पनि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

‘देशमा केही भएन र केही भएको छैन’ भन्ने भाष्य तयार गरिँदै गरेको बताउँदै उनले अहिलेको विकास निर्माणलाई हेर्ने हो भने त्यो भाष्य गलत हुने दाबी गरे । ३० वर्षमा हुन नसकेको विकासको काम प्रदेश सरकारले ७ वर्षमा गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मात्रै ७ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको जानकारी दिए ।
देशकै पुरानो नगर भएर पनि भद्रपुर पछिल्लो समयमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अगाडि बढाउनको लागि सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष, भद्रपुर नगरपालिकाका मेयर गणेश पोख्रेल लगायतले कार्यक्रममा आ–आफ्नो भनाई राखेका थिए । सो कार्यक्रममा सहयोगी र अग्रज पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।
कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवी समेतको सहकार्यमा सो कार्यालय भवन निर्माण गरिएको हो । करिब २२ लाख रुपैयाँको लगानीमा भवन निर्माण भएको जानकारी क्लबले दिएको छ ।


