
बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य पर्यटक भित्र्याई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रशस्त धार्मिक र पर्यटकीय गन्तव्यहरू भए पनि ती क्षेत्रहरूमा आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता अझै कायम रहेको बताएका हुन ।

सैनामैनामा आयोजित एक महिने श्रीशिव महापुराण श्रृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने–‘जबसम्म हामी बाह्य पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्र्याउन सक्दैनौं, तबसम्म पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुँदैन । अहिले पनि बाह्य पर्यटकहरू आइरहेका छन्, तर उनीहरूलाई रोक्न सकिरहेका छैनौं । त्यसैले घुम्न लायक गन्तव्यहरू निर्माण गर्न जरुरी छ ।’
धार्मिक स्थलहरूको विकासमा संघ, प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरूको समुचित विकास गरिने प्रतिबद्धता व्यक्त गरेका हुन ।
समृद्ध लुम्बिनीको आकांक्षा पर्यटन क्षेत्रको विकासबाट सम्भव रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशलाइ जोड्न लुम्बिनी पर्यटन सर्किटको योजना बनाएको समेत बताए । तराई, पहाड र हिमाल रहेको लुम्बिनी प्रदेशमा यहि विविधतायुक्त भूगोलले समेत पर्यटकलाई आकर्षित गर्न सक्ने आधार रहेको समेत उल्लेख गरे ।


