भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

सदरलाइन संवाददाता २ भाद्र २०८२, सोमबार १९:५६
 

काठमाडौँ : भारत सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन ।

भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पु¥याउने गुणस्तरका दुई कुकर प्राप्त भएको छ ।


यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभई सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो तथा प्रगाढ सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रुपमा ठूलो सङ्ख्यामा एक–अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एकै किसिमको भाषा, धर्म र संस्कृति तथा पुरानो मित्रवत् र खुला सीमाका कारण नेपाल–भारतबीच एक–अर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा समेत घनिष्ट तुल्याएको छ । हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागि थिए । एनटिभि अनलाइनबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

२ भाद्र २०८२, सोमबार १९:५६
नेपालगञ्ज :  नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोगमा र बास नेपालको समन्वयमा सो कार्यक्रम […]