चितवनका कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

सदरलाइन संवाददाता २८ श्रावण २०८२, बुधबार १२:००
 

चितवन : चितवनमा यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उनले भने–‘प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।’


यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्दछन् । उनले भने,–‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन ।’ नेपालमा यो रोग काठमाडौँमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए । कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनी बताउछन् । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनको सुझाव छ ।

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ । जसबाट ‘लो प्याथोेनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा व्रोङ्गकाइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो । सो परीक्षणबाट इकोलाई सात सय ८५ वटामा र साल्मोनेला एक सय १२ वटामा देखिएको उनले बताए । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् ।

फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउछन् । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुकबाट आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दा होसियार !

२८ श्रावण २०८२, बुधबार १२:००
नेपालगञ्ज :  सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्ता गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ । सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई […]