
बिराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका छन् ।
विराटनगरको राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा छलफल गर्न र निरीक्षणका लागि पुगेका मुख्यमन्त्री कार्कीले यो हाम्रो प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गरे । रथ यात्रालाई भव्य रुपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन गरिसकेको र हेलिकप्टरबाट पुष्पवृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरिएको मुख्यमन्त्री कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले आगामी दिनमा तीन महिना अगाडि नै छिमेकी राष्ट्र भारतका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा दिएर उनीहरुलाई रथयात्रामा आतिथ्यता गराउने गरी तयारी गर्नका लागि पनि समितिका पदाधिकारीहरूलाई आग्रह गरे ।
राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी र सदस्यहरू नन्दकिशोर राठी, कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । श्रीकृष्ण अष्टमीको भोलिपल्ट विराटनगरमा नेपालको सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो रथयात्रा निकालिने गरिएको छ । यो रथयात्रामा सहभागी हुन भारत तथा नेपालका भक्तजनहरू आउने गरेका छन् ।


