बैतडीमा झाडापखालाले एक बालिकाको मृत्यु

सदरलाइन संवाददाता २६ श्रावण २०८२, सोमबार १९:२९
 

बैतडी :  बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र रोकायाकी– १३ वर्षिया छोरी आरती रोकायाको सोमबार बिहान झाडापखालाबाट मृत्यु भएको हाडाकोट स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र बोहराले जानकारी दिए ।

परिवारले बालिकालाई उपचारका लागि स्वास्थ्य संस्था लैजान नमानेपछि ज्यान गएको उनको भनाई छ । बोहराका अनुसार स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुख गर्नमै तीन दिन बिताएपछि बालिकाको मृत्युु भएको हो । मृत्युको खबर पाएपछि स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए । मृतक बालिकाको घरबाट स्वास्थ्य चौकी पुग्न ढाई घण्टा लाग्छ ।


मृतक बालिकाका ११ वर्षिय भाई कपील रोकायालाई पनि झाडापाखाला देखिएको छ । झाडापखाला सुरुवात भएका कपीलको स्वास्थ्य समान्य रहेकाले औषधि दिएर आएको इन्चार्ज बोहराले बताए ।

बालिका महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत थिईन । मृतक बालिकाका बुबा रोजगारीको लागि भारतमा रहेका छन् । बैतडीमा गत आर्थिक बर्षमा ४ हजार ५ सय ३९ जनामा झाडापखाला देखिएको स्थास्थ्य कार्यालय बैतडीको तथ्यांक छ ।

तथ्यांक अनुसार देखिएका सबै रोगी स्वास्थ्य उपचार गरेपछि ठिक भएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले बताए । प्राय झाडापाखाला फोहर पानीबाट हुने भएकाले शुद्ध पानी पिउन वा पानीलाई उमालेरमात्र प्रयोग गर्न लेखकले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न अस्वीकार

२६ श्रावण २०८२, सोमबार १९:२९
रुपन्देही :  सहकारी ठगीमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न अदालतले अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको सुचना अधिकारी पदम […]