भारत उत्तराखण्ड उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको बाढीमा परी १७ नेपाली बेपत्ता

सदरलाइन संवाददाता २३ श्रावण २०८२, शुक्रबार ११:३५
 

नेपालगञ्ज :  भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना र धादिङ्गका ४ जना गरी १७ जना बेपत्ता भएको खबर छ । सो बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना र ज्वालमुखी गाउँपालिका वडा नम्व –२ काफल छाप धादिङ्गका ४ जना बेपत्ता भएका हुन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरे । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए ।


जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए ।

‘जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम सङ्कलन गर्न निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु’ उनले भने ।

यसैगरी सोही घटनामा परेर धादिङ्ग ज्वालमुखी गाउँपालिकाका ४ जना सम्पर्क बिहीन भएको पालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिए । भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको बताए ।

सम्पर्क विहिनको खोजी कार्य भई रहेको अध्यक्ष दनैले जानकारी दिदै उनीहरुको खोजीका लागी आफु लगाएत स्थानीय तह लागि रहेको बताए । ‘बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’ सम्पर्कमा विहिन भएका मध्ये फे लामा तामाङ्ग, लालबहादुर तामाङ्ग, फो लामा तामाङ्ग, सिहबहादुर तामाङ्ग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्ने भएकोले प्राविधिक शिक्षामा ध्यानदिन आवश्यक

२३ श्रावण २०८२, शुक्रबार ११:३५
रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिने गरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन । […]