
नेपालगञ्ज : उच्च अदालत तुलसीपुर, नेपालगञ्ज ईजलाशले बाँकेको नरैनापुर गाउपालिका गाउ शिक्षा समितिलाई शिक्षक सरुवाको काम कारवाही तत्कालका लागि नगर्न नगराउनको लागि अल्पकालिन आदेश दिएको छ ।
नरैनापुर गाउपालिकाको गाउ शिक्षा समितिले २०८२ असार २७ गते शिक्षक सरुवा तथा मदरसा÷विद्यालय समायोजन गर्न गरेको निर्णयको आधारमा नरैनापुर गाउपालिकाका शिक्षा अधिकृतद्वारा असार ३० गते जारी गरेको पत्र समेत कार्यान्वयनका बिरुद्ध स्थानीय राधेश्याम यादवलगायत अदालत पुगेका थिए ।

यादवका पक्षबाट दायर गरिएको निवेदन उपर वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता, अधिवक्ताहरु रामकुमार दिक्षित, पुनम श्रेष्ठ, डा. पूर्णबहादुर शाही, प्रभात रञ्जन पोखरेल र राकेशकुमार सोनीले बहस गरेका थिए ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज ईजलाशका न्यायाधीश गोबिन्द जोशीको बेन्चबाट उक्त उत्प्रेषण, प्रतिषेध, परमादेश जारी गरिएको छ । आगामी साउन २५ गते विपक्षिहरु समेतको उपस्थितिमा छलफल अघि बढाउने गरी पेशी समेत तोकिएको उक्त परमादेशमा उल्लेख गरिएको छ ।


