लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन : वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्छौ

सदरलाइन संवाददाता २१ असार २०८२, शनिबार १८:५१
 

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताएका छन् ।

शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राखे ।

‘हामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ,’–उनले भने,‘वनमा खेर जाने पातपतिंगर र झार संकलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा पनि सघाउ पु¥याउँछ ।’

मुख्यमन्त्री आचार्यले सामुदायिक वनहरूलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाई कृषि क्षेत्रसँग जोड्न सकिने बताउँदै प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई यसले थप टेवा पु¥याउने स्पष्ट पारे ।


उनले वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा विस्तार गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्य रहेको छ । साउन १४ गतेसम्म झण्डै १ लाख बिरुवा वितरण भइसकेको जानकारी खड्काले दिए ।

हाल जिल्लाभित्र ६ वटा नर्सरीमा १ लाख ६३ हजार वटा वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा छन् । डिभिजन वन कार्यालयले तेजपात र टिमुरको बिशेष खेतिबिस्तारको अभियान थालेको छ ।

कम्तिमा पाँच सय बिरुवा माग गर्नेहरूका लागि कार्यालयले निःशुल्क ढुवानी गर्ने, रोपण कार्यमा सहजिकरण समेत गर्दै आएको छ । हाल सम्म टिमुरका २० हजार पाँच सय र तेजपातको १२ हजार नौं सय बोट रोपण गरिएको छ । यो अभियान साउन १४ सम्म चल्ने कार्यालयले बताएको छ ।

बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि जिपिएस लोकेसन प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘आमनागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउ’

२१ असार २०८२, शनिबार १८:५१
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर, जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताए […]