काठमाडौ : नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।
नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि जितेको थियो । सिंगापुरले जितका लागि दिएको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा भेटेको थियो ।


प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले नेपाललाई ११४ को सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन जोडेको थियो ।
सुरुदेखि नै राम्रो फर्ममा रहेको नेपाली क्रिकेट टोलीका लागि ११४ रनको लक्ष्य सामान्य हुने विश्लेषण गरिएको छ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।