दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको दाबी गरेका छन् ।
प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले जिल्लागत रूपमा विनियोजन भएको बजेटको विवरण सार्वजनिक गर्दै बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको दाबी गरेका हुन ।
विकासको प्राथमिकतालाई ध्यानमा राखेर बजेट बाँडफाँट गरिएको उनले प्रष्ट पारे । नवलपरासी पश्चिमा एक अर्ब १९ करोड, रुपन्देहीमा ७ अर्ब १ करोड, कपिलवस्तुमा एक अर्ब ७८ करोड, पाल्पामा एक अर्ब ९९ करोड, अर्घाखाँचीमा एक अर्ब ६९ करोड बजेट बिनियोजन गरेको जानकारी दिए ।


यसैगरी गुल्मीमा एक अर्ब ६६ करोड, रुकुम पूर्वी भागमा ७४ करोड १७ लाख, रोल्पामा एक अर्ब ४४ करोड, प्यूठानमा एक अर्ब ३६ करोड, दाङमा ९ अर्ब ६७ करोड, बाँकेमा ३ अर्ब ६६ करोड, बर्दियामा १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको जानकारी गराए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ ।
प्रदेशको भौगोलिक र जनसंख्यात्मक महत्वका साथै भौतिक पूर्वाधार, कृषि, पर्यटन र अन्य सम्भावनालाई ध्यानमा राख्दै बजेटले प्राथमिकता राखेको छ । मुख्यमन्त्री आचार्यले भावनामा बगेर नभई तथ्यगत आधारमा तुलना गरेर बजेटको विश्लेषण गर्न आग्रह गर्दै जिल्लागत बजेटको विवरण सदनमा प्रस्तुत गरेका हुन ।
मुख्यमन्त्री आचार्यले बजेट विनियोजन गर्दा हरेक जिल्लाको भौगोलिक अवस्था, विकासको आवश्यकता, जनघनत्व, अवसर र चुनौतिलाई ध्यानमा राखिएको बताए ।
प्रदेश सरकारले यसपटक कृषि, पूर्वाधार, पर्यटन, ऊर्जा, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य जस्ता जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । यसले प्रदेशको समावेशी, न्यायसंगत र दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।