
नेपालगञ्ज : नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको नव निर्मित अपरेशन थिएटर भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पार्दै भने–‘यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं ।’
उनले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।


‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ मुख्यमन्त्री आचार्यले भने– ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पताललाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट उपकरणका लागि तत्काल सहयोग गर्ने बताए । उनले यो अस्पतालले प्रहरी र उनका परिवारलाई मात्र सेवा प्रवाह नगरी सर्बसाधारणलाई पनि सेवा प्रवाह गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले आफ्नो मन्त्रालय अन्तरगतको १२ वटै जिल्लाका विभिन्न प्रहरी युनिटहरुलाई सहयोग र बजेट पठाईए पनि प्रहरीले भने संघको दम्भ बोकेर बसेको भन्दै आक्रोश पोखे ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीले गरेका थिए भने स्वागत अस्पताल प्रमुख प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक दीपा न्हुच्छे प्रधानले गरेकी थिईन ।


