राप्तीसोनारीको खल्ला झगडियामा जनताको तटबन्धले बनायो अस्थायी बाँध

रुद्र सुवेदी १३ श्रावण २०८२, मंगलवार १९:२९
 

नेपालगञ्ज :  बाँकेमा राप्तीनदीको तिब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडिया आसपासको क्षेत्रमा बेम्बो पायलिङ्ग प्रविधिको प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ लमही दाङ्गले बाँकेको खल्ला झगडिया आसपासमा सो प्रविधिको प्रयोग गरी पहिलो चरणमा ४ सय ५० मिटर अस्थायी तटबन्ध निर्माण गरेको जनाएको छ ।

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ६ लमहीका प्रमुख डा. नारायण सुवेदीले बाँकेको राप्तीसोनारी ७ को खल्ला झगडियामा राप्तीनदीको बाढीबाट हुन सक्ने क्षति रोकथामका लागि आपतकालिन नदी नियन्त्रण कार्यक्रम अन्तर्गत बेम्बो पाईलिङ्ग प्रविधिबाट अस्थायी तटबन्ध निर्माण गरेको जानकारी दिए ।

उनले भने–‘ राप्ती नदीले धार परिवर्तन गरी राप्तीसोनारी–७ खल्ला झगडियामा तटबन्ध भत्काएर गाउपस्ने अवस्थाको तत्काल रोकथामका लागि बेम्बो पायलिङ्ग र प्रकोपाईन निर्माण गरी अस्थायी बाँध निर्माण गरिएको छ । यसमा सिमेन्टको प्रकोपाईन पनि प्रयोगमा आएको छ । यसले अस्थायी बाँधको आयु बढाउन मद्दत गर्छ ।’

उनले अस्थायी तटबन्ध निर्माण गरिएको स्थानमा अगाडि सिमेन्टको प्रकोपाईन राखेर त्यसको ब्याकअपमा बाँसको प्रकोपाईन त्यसको सर्पोटमा प्लाटिकको जालीमा सेण्डबोरी राखेर बाँध निर्माण गरिएको जानकारी दिदै पहिला २–३ मिटर गहिरो र तेज धार भएको स्थानमा अहिले मुस्किलले ३० सेन्टीमिटर गहिरो र पानीको धार पनि घटेको पाईएको बताए ।

उनले सो स्थानमा अहिले अस्थायी बाँध निर्माण गरिएको जानकारी दिदै वर्षायामपछि सोही स्थानमा स्थायी तटबन्धको निर्माण गरिने र त्यसका लागि टेण्डर भई सेकेको जानकारी दिए ।

जनताको तटबन्ध कार्यक्रमले बाँकेको खल्ला झगडिया र जरैयामा करिब एक करोडको लागतमा बाँसको प्रयोग गरि कटान नियन्त्रणका लागि बेम्बो पाईलिङ्ग प्रविधि मार्फत तटबन्ध निर्माण सम्पन्न गरेको छ ।


राप्ती नदीको तिव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपास नदी किनारमा गरिएको अस्थायी माटोको तटबन्ध भत्केर नदी गाउँमा पस्ने जोखिम बढेकोले पक्की संरचनाको तटबन्ध निर्माण गरिदिन राप्तीसोनारी ७ का दुर्गाप्रसाद पाण्डेको माग छ ।

उनले भने–‘ भारतले सिमा क्षेत्रमा एकलौटी निर्माण गरेको बाँधका कारण आफुहरु डुवान र कटानको चपेटामा पर्दै आएकोले हामीहरुको बस्तिलाई जोगाउन पक्कि बाँध निर्माण गरिदिन सरकारको ध्यानाकर्षण गराउछु ।’

उनले बर्षात लागेसंगै कतिबेला नदीले धार फेरेर गाउमा पस्ने हो भन्ने चिन्ताले आफुहरुलाई खाई रहेको बताए । तत्कालका लागि अस्थायी बाँध त भएको भएपनि कतिबेला गाउ डुवानमा पर्नेहो सधै खतरामै बस्नु पर्ने अवस्था आएको उनको गुनासो छ ।

राप्तीसोनारी–७ का वडा अध्यक्ष रामलखन थारुले राप्ती नदीको निरन्तरको कटानका कारण राप्तीसोनारीको देउपुरा, पिप्रहवा, खल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर ६ को सोनबर्षा, कुदरबेटवा, गङ्गापुर नरैनापुर ५ को भोजपुर, नेवाजी गाउँ र डुडुवा १ को कुडवा गाउँ सबैभन्दा बढि जोखिममा पर्ने जानकारी दिए ।

उनले मथीका गाउहरु अस्थायी तटबन्ध निर्माण पछि तत्कालको समस्या टरेको भएपनि पक्कि संरचना तदारुकता देखाउनु पर्ने सुझाव दिदै भने–‘ अहिलेका लागि समस्या टरेको छ । तर, यत्तिमै चित्त बुझाएर बस्ने अवस्था छैन ।’

सो स्थानमा पक्कि संरचना निर्माणको लागि टेण्डर भई सेकेको र वर्षातको समय सकिने वित्तिकै पक्कि संरचना निर्माण कार्य सुरु हुने आयोजना प्रमुख डा. सुवेदीले जानकारी दिए । उनले राप्ती नदीमा पक्कि संरचना निर्माण भएसंगै बाढी प्रभावित क्षेत्रका जनताहरु ढुक्कहुन सक्ने अवस्था आफुहरुले बनाउने दाबी गरे ।

राप्ती नदीको खल्ला झगडिया क्षेत्रमा स्थायी तटबन्ध निर्माणको टेण्डर आव्हान गरेर साई माँ दुर्गा भेन्सी जेभीले काम सम्पन्न गर्नेगरि करिब ६ करोड रुपैयाँमा ठेक्का स्वीकृत भएको र ठेकेदार कम्पनीले वर्षात सकियसंगै काम सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली विकास बैंक भ्रष्ट्राचार प्रकरण : एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा

१३ श्रावण २०८२, मंगलवार १९:२९
नेपालगञ्ज : कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला प्रकरणमा आज उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा मुद्दा दर्ता भएको छ। तीन अर्ब २० करोड ११ लाख ५४ हजार बिगो दाबीसहित एक सय नौ जना विरुद्ध मुद्दा दर्ता भएको हो। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास सूचना अधिकारी बलबहादुर बिष्टका अनुसार मुद्दा दर्ता […]

सम्बन्धित