बुद्धका शिक्षालाई आत्मसाथ गर्दै शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ११ श्रावण २०८२, आईतवार २०:२२
 

लुम्बिनी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताएका हुन । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’–उनले भने ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । ‘लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ,’उनले भने ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे ।

उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।


मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको थियो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए ।

कार्यक्रममा भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न विद्वानहरुले शुभकामना सन्देश मार्फत वौद्ध शिक्षा र यसको सान्दर्भिताको बारेमा व्याख्या गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा संगोष्ठीको उद्घाटन गरिएको थियो ।

सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता समेत गरिएको थियो । रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्व राजदुतहरू प्रा.डा लोकराज बराल, दीप कुमार उपाध्याय लगायतले बोल्दै विश्वशान्तिका लागि बुद्ध कुटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताएका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् । सेमिनार दुई दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदिवासीको उत्थान गर्न समुदाय आधारित समृद्धिको ढाँचा आवश्यक ; महासचिव पोखरेल

११ श्रावण २०८२, आईतवार २०:२२
काठमाडौं :  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन । हरेक […]

ताजा अपडेट