बंगलादेशमा हिंसा, ४ जनाको मृत्यु, ९ घाइते

एजेन्सी १ श्रावण २०८२, बिहीबार १४:५३
 

बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो । बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।

हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् । चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो । हिंसाको बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए ।


एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्‍यालीको अध्यक्षता गर्दै भने,’यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।’ एनसीपी नेता सरजिस आलमले फेसबुक पोस्टमा लेखेका छन्, ‘गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे। प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो।’

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन् ।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २८ फेब्रुअरी २०२५ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि यस पार्टीलाई प्राप्त छ ।

युनुसले एक्समा लेखेका छन्, ‘युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो।’ उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिए । युनुसले भने, ‘अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्णरूपमा जवाफदेही बनाइनुपर्छ। यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन। यस्ता धम्कीका बाबजुद पनि र्‍याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा खानेपानी तथा शहरी विकासको खर्च प्रगति उत्कृष्ट

१ श्रावण २०८२, बिहीबार १४:५३
  नेपालगञ्ज : लुम्बिनी प्रदेशका तीन वटा विकासे मन्त्रालयहरुमध्ये आर्थिक वर्ष २०८१/०८२ को समग्र खर्च प्रगतिमा खानेपानी तथा शहरी विकास मन्त्रालय उत्कृष्ट ठहरिएको छ । लुम्बिनी प्रदेशको लेखा नियन्त्रक कार्यालयको वेबसाइटमा सार्वजनिक गत आर्थिक वर्षको असार २५ गतेसम्मको मन्त्रालयगत खर्चको प्रारम्भिक विवरणअनुसार तीन विकासे मन्त्रालयहरुमध्ये सबैभन्दा बढी ८४.५५ प्रतिशत खर्च […]

सम्बन्धित