नागरिक उन्मुक्तिको अध्यक्षमा लालबिर चयन

सदरलाइन संवाददाता १५ श्रावण २०८२, बिहीबार १९:३३
 

नेपालगञ्ज :  नागरिक उन्मुक्ति पार्टीको काठमाण्डौमा सम्पन्न भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय सदस्यको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताए ।

यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताईन ।


उनले भनिन–‘मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधानविपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।’

लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन । प्रतिनिधिसभा सदस्यसमेत रहेकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो । विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएकाबेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बनेका थिए । यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णयविरूद्ध सर्वोच्च अदालत गएका थिए, हाल उक्त मुद्दा विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि पुनः पहल

१५ श्रावण २०८२, बिहीबार १९:३३
नेपालगञ्ज : नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानले दुवै देशका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै पुनः पहल थालिएको छ। दुवै देशको फाइदाका लागि हवाई उडानमार्फत भारतसँग पश्चिम नेपालको ‘कनेक्टीभिटी’ गर्न जरुरी भएको यहाँका सरोकारवालाको जोड छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो विषयमा ठोस् निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ। नेपालगञ्ज विमानस्थलमा अन्तर्राष्ट्रिय […]

ताजा अपडेट