एमाले केन्द्रीय बैठक पार्टी कार्यालय च्यासलमा सुरु

सदरलाइन संवाददाता ५ श्रावण २०८२, सोमबार १९:२४
 

काठमाडौं :  नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

बैठकको बिचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन ।

गौतमका अनुसार पार्टी अध्यक्षले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेका छन् ।

उनले भने, ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो ।’

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिएका छन् । ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिन मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ’, गौतमले भने ।


एमालेको सदस्यता अभियान सन्दर्भमा गौतमले बताएअनुसार हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्, जुन कुल सदस्यताको करिब २८ प्रतिशत बृद्धि हो । ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनले भने ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो । पार्टी कार्यालयमा नै भएको उक्त छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किनुहुन्छ कि नफर्कनु भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिए । सदस्यताको विषय छलफलबाट टुंगिने उनले बताए ।

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए ।

आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानहरूको प्रगति विवरण प्रस्तुत गर्ने पनि उनले जानकारी दिए । गौतमका अनुसार आज र भोलि लगातार बैठक चल्नेछ । ’भोलि (मंगलबार) नयाँ निर्णयसहित सार्वजनिक रूपमा आउनेछौँ’, उनले भने ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ । यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा पूर्व बालक्लवका सदस्यहरुद्वारा ‘सहयोगका लागि चिया अभियान’ सञ्चालन गर्दै

५ श्रावण २०८२, सोमबार १९:२४
नेपालगञ्ज  : क्यान्सर पीडितको उपचार सहयोग तथा नीलसागर सेवा आश्रमको भवन निर्माण सहयोगको लागि ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ नेपालगञ्जमा ‘सहयोगका लागि चिया अभियान’ सञ्चालन गरिने भएको छ । पूर्व बालक्लबमा आबद्ध सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपाल बाँके र स्व.बिन्दु कुँवर फाउण्डेशनका अभियन्ताहरुले सो अभिया सञ्चालन गर्ने […]