
नेपालगञ्ज : उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८१-८२ मा २ हजार ४ थान मुद्दा फछ्र्यौट गरेको छ । यो तथ्याङ्क लक्ष्य भन्दा बढी हो । यस कार्यालयको तथ्याङ्क अनुसार यो बर्ष १ हजार ६ सय ३७ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य भएपनि त्यसभन्दा बढी २ हजार ४ थान मुद्दा फछ्र्यौट गरेको छ ।
उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले विहिवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०८०-८१ बाट जिम्मेवारी सरेका ७ सय ७४ नयाँ दर्ता अनुमान १ हजार ७ सय ९ मुद्दा रहेका थिए । जसमा अनुमानित बार्षिक लागत २ हजार ४ सय ८३ थियो ।
आर्थिक वर्ष २०८१-८२ मा नयाँ दर्ता १ हजार ८ सय ७२ र वास्तविक लागत २ हजार, ६ सय ४६ थियो ।
यसरी आर्थिक वर्ष २०८१-८२ मा ७५ दशमलव ७४ प्रतिशत मुद्दा फछ्यौट भए । भने, अहिलेसम्म दर्ता भएका मुद्दामा ६ सय ४२ मुद्दा मात्रै फछ्र्यौट हुन बाँकी देखिएको छ ।
यस अदालतमा जबर्जस्ती करणी, लागु औषध, मानव बेचविखन तथा ओेसार–पसार, ज्यान सम्बन्धि कसुर, सम्बन्ध बिच्छेद र अन्य शिर्षकमा मुद्दा दर्ता भएका छन । यहाँ रिट र निषेधाज्ञा सम्बन्धि मुद्दा पनि दर्ता भएको उक्त यस कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अदालतले कुनै पनि मुद्दामा डेढ बर्ष भित्रैसबै मुद्दा फछ्र्यौट गर्ने गरेको उच्च अदालत तुलसीपुर नेपालगञ्जका मुख्य न्यायधीश चन्द्र बहादुर सारुले जानकारी दिए । मुख्य न्यायधीश सारुले पाँचौ पञ्चवर्षिय रणनितिक योजना कार्यान्वयन गर्दा मुद्दा फछ्र्यौटमा वृद्वि भएको बताए । मुख्य न्यायधीश सारुले भने,–‘हामीले २० दिनमा पनि मुद्दा फछ्र्यौट गरेका छौं । यद्यपी यो अदालतल एक्लैले मात्रै सम्भव भएको होईन । यसमा सम्बद्व सवै निकायको महत्वपुर्ण भुमिका छ ।’
अदालतमा स्वचालित पेशी व्यवस्थापन हुने गरेको जानकारी दिंदै उनले यो मानव नियन्त्रण प्रणालीबाट बाहिर रहेको बताए । ‘यो सफ्ट्वयर बाट हुन्छ । यसमा बारको पनि सहयोग छ ।’
यसैगरी, जिल्ला अदालत बाँकेले गत आर्थिक बर्ष २०८१-८२ मा ५९.६८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला न्यायाधिश भिष्मराज प्रसाईका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फछ्र्यौट भएका छन् । जिल्ला अदालतमा दुई बर्ष नाघेका मुद्दा भने अझै ५३ वटा छन् । यस्तै बर्दिया जिल्ला अदालतमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिश मनोज श्रेष्ठले बताए ।
शाखा अधिकृत प्रकाश विकले तथ्याङ्कबारे प्रस्तुती दिएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन भने उप–रजिष्ट्रार हेमराज तिमिल्सैनाले गरेका थिए ।



