
राप्तीसोनारी (बाँके) : बाढी पूर्व सूचना संयन्त्रका कारण बाढीजन्य प्रकोपबाट मानविय, चौपाय तथा भौतिक क्षति न्यूनिकरण हुन सकेको पाईएको छ । बाँकेमा राप्ती नदीको कारण नदी आसपासका स्थानीयहरु भन्छन ‘बाढी पूर्व सूचनाका कारण आफुहरु डुवानबाट महत्वपूर्ण सामान तथा चौपाय जोगाउन सकेका छौ ।’
बाँके राप्तीसोनारी– ६ का पूर्व वडा अध्यक्ष समेत रहेका जनकबहादुर थारु भन्छन–‘कुनै समय थियो राप्तीनदीमा एक्कासी बाढी आउथ्यो बाढीले आफ्नै आँखाको अगाडि धनमाल बगाएर लैजाथ्यो निरिह भएर हेर्नुको विकल्प थिएन । तर, अहिले भने बाढी पूर्व सूचनाको कारण आफुहरु मात्र नभएर पुरै गाउ नै जोगाउन सक्षम भएका छौ ।’
उनले आफुले जान्ने भएदेखि नै आफ्नो गाउ राप्ती नदीमा आउने बाढीको चपेटामा पर्दै आउने गरेको बताउछन । ‘पहिला कुनै पनि सूचना हुदैनथ्यो एक्कासी नदीमा बाढी आउदा आफु जे जति सक्यो त्यति बचायो, कतिका त चौपाय, खाने अनाज सबै बगाई दिन्थ्यो’–उनले भने–‘ अब बाढी पूर्व सूचनाका कारण सबै सकुशल जोगिन सजिलो भएको छ ।’ उनले बाढीलाई आफुहरुले रोक्न नसके पनि बाढी पूर्व सूचनाको कारण आफुहरु भने जोगिनलाई ठूलो मद्दत पुगेको बताए ।
लामो समयदेखि गाउमै रहेर समुदायलाई विपद जन्य जोखिमबाट जोगिने उपाए सिकाउदै आएका राप्तीसोनारी–६ सिद्धनवाका हरीबहादुर थारुले गाउको उत्तरबाट दक्षिण हुँदैै बग्ने राप्तीनदीमा बाढी आएको कुसुममा रहेको गेज रिडिङ्ग स्टेशनबाट सूचना आउने गरेको र त्यो सूचना समुदायसम्म पुग्दा ढीलो हुने भएकोले नदी तटका व्यक्तिहरु जोखिममा हुने गरेको बताए ।
उनले पहिला र अहिलेको अवस्था सम्झदै भने–‘ अब राप्ती नदीमा बाढी आए नआएको कुसुममा रहेको गेजरिडिङ्ग स्टेशनको मात्र भर पर्नु पर्दैन टोलफ्रि नं.११५५, एसएमएसका माध्यामबाट सूचना समुदायमा आएपछि सूचनाको प्रकृति हेरेर साईरन बजाउदै सचेत बनाउने गरिएको जानकारी दिए ।


उनले भने–‘ हामीले समुदायमा कुन घर जोखिममा छ, कुन घर डुवानमा पहिला पर्छ,त्यसको मापन गरी कुन कुन घरमा जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, शाररीक अशक्त बालबालिका छन् उनहरुको तथ्याङ्क पहिला नै संकलन गरेका छौ । यसले विपदको बेलामा उद्दारको लागि सहज बनाउने छ ।’
उनले समुदायमा बाढीको बेलामा आफ्नो साथमा केके लैजाने, गरगहना, नागरिकतालगायतका प्रमाणपत्र, खानेकुरा लत्ता कपडा सुरक्षित राख्नको लागि झटपट झोलाको अवधारण समेत अपनाईएको बताए ।
राप्तीसोनारी–६ कै लौवरी थारु पहिला बाढी आएको थाहा नपाएर सबै बगाएको सम्झना गर्दै भनिन–‘ पहिला बाढी आएको थाहा पाईदैनथ्यो अहिले भने पूर्वसूचनाको साईरन, एसएमएसले जानकारी गराउदा आफु र अत्यावश्यक सामान जोगाउन मद्दत पुगेको छ ।’
बाँकेमा बाढी पूर्व सूचनाको प्रभावकारिताको कारण उद्दार, खोजतासलगायतमा सहजता भएको रेडक्रश बाँकेमा निमित्त जिल्ला शाखा अधिकृत निरञ्जना मल्ल बताउछिन । उनले समुदाय परिचालनमा पनि सहजता भएको बताईन ।
राप्ती नदीले लुम्बिनी प्रदेशको प्युठान, दाङ्ग र बाँकेमा डुवान तथा बाढी जन्य प्रकोपबाट बर्षेनी ठूलो क्षति गर्दै आएको छ । बाढी पूर्व सुचनाका कारण पछिल्ला केही वर्षयता मानविय, चौपाय र धनजनको क्षति न्यूनिकरणमा ठूलो मद्दत पुगेको छ ।