
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रम बिरुद्ध अभियान सञ्चालनमा ल्याएको छ । उपमहानगरको टोलीले बजारमा संयुक्त अनुगमनका माध्यामबाट बालश्रम बिरुद्ध अभियान सुरु गरेको हो ।
नेपालगञ्जलाई बालश्रम मुक्त बनाउन योजनाबद्ध कार्यक्रमहरु निर्माण गरिएको उपमहानगरपालिकाका बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताईन । उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका निर्माणका लागि पनि नेपालगञ्ज बालश्रम मुक्त हुनै पर्ने पुरीले प्रस्ट्याईन ।
नेपालगञ्जका ग्यारेज, फर्निचर पसल, इलेक्ट्रिक स्कुटी र इलोक्ट्रोनिक मर्मत पसलमा अनुगमन गर्दा सो अनुगमनबाट पाँच जना बाल श्रमिक फेला परेका थिए ।
यसरी भेटिएकाहरुमा ग्यारेजमा एक ११ वर्षका बालक, फर्निचर पसलमा १४ देखि १८ वर्षका दुई बालक, इलेक्ट्रिक स्कुटी पसलमा १५ वर्षका एक बालक, इलोक्ट्रोनिक पसलमा १६ वर्षका एक बालक बाल श्रममा रहेको भेटिएको बाल कल्याण अधिकारी पुरीले जानकारी दिईन ।

अनगमनका क्रममा भेटिएका पाँच जनामध्ये एक ११ वर्षीय बाललाई परिवारको जिम्मा लगाएको विद्यालय भर्ना गराउने प्रक्रियामा तयारी गरिएको पनि उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखसमेत रहेकी पुरीले बताईन ।
यसका साथै अनुगमन गरिएको व्यवसायीक प्रतिष्ठानहरुलाई बालश्रम सम्बन्धिको कानून कसैले बालबालिकालाई बालश्रममा लगाएको भेटिएको खण्डमा दण्डित गरिने चेतावनी दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रमिक राख्नेहरुमाथि निगरानी बढाएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरेको नेपालगञ्ज उपमहानगरपालिकाले बजारमा बालश्रमिकहरु बढेको र खुलेआम रोजगारदाताले बालश्रमिक राखेको भन्ने जनगुनासो आएपछि निगरानी बढाएको हो ।
होटल, मिठाई पसल, डान्सबार, दोहोरी साँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा, भरिया, फर्निचर पसल, घरेलु कामदार, छापाखाना लगायतका क्षेत्रमा बालश्रमिकको संख्या बढेको जनगुनासोपछि छड्के अनुगमन थालिएको पुरीले बताईन ।
रोजगारदाताहरु खुलेआम बालश्रम निषेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलाप गएको देखिएकोले नेपालगञ्ज उपमहानगरपालिकाले जोखिम क्षेत्रको कार्यतालिका नै बनाएर अनुगमन सुरु गरेको छ ।


