नेपालगञ्ज : बाँकेमा सञ्चालनमा रहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पश्चिम मूलनहर अन्तरगतको गुरुवागाउ शाखा नहर निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भई परिक्षणको लागि नहरमा पानी छाडिएपछि किसानको मुहारमा खुशी देखिएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पश्चिम नहर अन्तरगत गुरुवागाउ शाखा नहरको करिव ११ किलोमिटर निर्धारित समय भन्दा डेढवर्ष अगाडि नै निर्माण भई नहरमा पानी बग्न थालेपछि सो नहरले सिचाई सुविधा दिने किसानमा खुशीको लहर छाएको बैजनाथ–८ का रामशंकर थारुले बताए ।
उनले पहिला मुस्किलले धान रोप्नमात्रै सकिने आफ्नो खेतमा सिचाई भएपछि गहु र अन्य खेती पनि गर्न सजिलो भएको बताए । उनले गाउको नजिकैबाट नहर बगेपछि धानरोप्न पनि आकासको भर पर्नु भने अव नपर्ने भएको र आयोजनाको शाखा नहर मात्र भएपनि पम्प गरेर पानी खेतमा लैजना सजिलो भएपछि आफुहरुमा खुशीको सिमा नभएको बताए ।
सो शाखा नहर भैरव सुभानी जेभि काठमाण्डौले २०८३ फागुण १७ गते निर्माण सम्पन्न गर्ने गरी २०८० फागुन ११ मा सम्झौता गरेको थियो । तर, अफै करिव डेढ वर्ष बाँकी हुँदै नहरमा पानी चलाउन मिल्ने बनाएको छ ।
आयोजनाको गुरुवागाउ शाखानहरले करिव ७ हजार ८१ हेक्टर जमिन सिचाई गर्ने लक्ष रहेको र नहरबाट नियमित पानी आउन थालेपछि यस नहर आसपासमा स्थानीयको खेती चक्र नै फेरिएको बैजनाथ गाउपालिका वडानं. ५ का वडा अध्यक्ष समेत रहेका देवबहादुर रावतले बताए ।
उनले भने–‘ पहिला सिचाईको व्यवस्था नहँुदा एक खेती मात्रै गर्ने बैजनाथका किसानका लागि सिक्टा सिचाई आयोजनाको नहरमा बग्ने पानी अमृत जस्तै हो । अहिले यहाँका किसानहरु अब यो पानी आफ्नो खेतमा प्रयोग गरेर खेती चक्र नै बदली तीन सिजनको खेती गर्न थालेका छन ।’
उनले नहरको शाखा मात्र निर्माण हुँदा पनि किसान खुशी हुने अवस्था आएको बताउदै नहरको प्रशाखा समेत निर्माण गरी किसानको खेतसम्म पानी पुराउन सके धेरै भन्दा धेरै किसानले आफ्नो कर्ममा सुधार ल्याउन सक्ने कुरामा जोड दिए ।


सिक्टा सिचाई आयोजनाका निमित्त आयोजना निर्देशक राजु आचार्यले आयोजनाको कामहरु धमाधम सम्पन्न हुने क्रममा रहेको बताए । उनले गुरुवागाउ शाखामा आज पानी छाडेर परिक्षण पनि भएको बताउदै सिक्टा सिचाई आयोजनाले अव बाँकेको किसानको मुहारमा खुशी ल्याउने दाबी गरे ।
उनले भने–‘ आयोजनाले अब धमाधम नतिजा दिने गरी कामलाई तीब्रता दिएको छ । गुरुवागाउ शाखा नहर ठेक्का लागेको डेढ वर्षमा नै निर्माणको अन्तिम चरणमा पुगेपछि आज पानी परिक्षण समेत गरियो ।’
उनले विगतमा आयोजनामा भएका ढिलासुस्तीलाई लिएर बस्न नहुने कुरामा जोड दिदै टिम मिलेको अवस्था र काम गर्ने वातावरण भएका निर्धारित समय भन्दा अगावै काम सम्पन्न गर्न सकिने सन्देश प्राप्त भएको कुरामा जोड दिए ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा २०६२ सालमा १२ अर्वमा निर्माणसम्पन्न गर्ने गरि सुरु भएको सिक्टा सिचाई आयोजनासम्पन्न हुँदासम्म लागत बढेर ५२ अर्व पुगेको छ । यसले बाँकेको ४३ हजार हेक्टर भन्दा बढी जमिनमा सिचाई पुराउने लक्ष लिएको छ ।