संविधान संशोधन अत्यावश्यक : कांग्रेस महामन्त्री थापा

सदरलाइन संवाददाता २० जेष्ठ २०८२, मंगलवार २०:१९
 


नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम अत्यावश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न पनि संविधान संशोधन जरूरी भएको बताए ।

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे । उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरे ।
‘एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन,’ उनले भने । महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन, बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गरे ।


उनले संघ र प्रदेशमा उपराष्ट्रपति, उप–सभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै संघ १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे । महामन्त्री थापाले नेपालको संघीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधन मार्फत सुधार गर्न आवश्यक भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै उनले कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताए । उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चल्न थाले सार्वजनिक सवारी

२० जेष्ठ २०८२, मंगलवार २०:१९
नेपालगन्ज : यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति […]