
नेपालगञ्ज : राजाराम सुवेदीको अध्यक्षतामा हाम्रो सुर्खेती समाज बाँकेको गठन गरिएको छ । आज नेपालगन्जमा आयोजित पहिलो साधारणसभाबाट सुवेदीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा राम बहादुर महतारा, सचिवमा यम नारायण पौडेल र कोषाध्यक्षमा मन्जु रिजाल चयन भएका छन् । यस्तै सदस्यमा पुस बहादुर खत्री, अनिता विसी, शंकर रावत क्षेत्री, टिकाराम नेपाली, सारदा रेग्मी, राजन विसी र किशोर शर्मा चयन भएका छन् ।

सुर्खेतमा बसोवास भई हाल बाँके जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आइरहेकाहरुलाई एउटै ठाँउमा जोड्न समाजको स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष पुर्ण ढकालले बताए । संस्थाले एक–आपसमा भातृत्व बढाउने र एकताको सूत्रमा बाँध्ने जनाइएको छ । अधिवेशन अघि पुर्व मन्त्री शिवराज जोशीको प्रमुख आथित्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री जोशीले जिल्लाभित्र छरिएका सबै सुर्खेतीहरुलाई समेट्न सुझाव दिए ।
यसका साथै संस्थालाई राजनीतिबाट टाढा राखेर विशुद्ध सामाजिक रुपमा काम गर्न नयाँ नेतृत्वलाई उहाँले आग्रह गरेका छन् । संस्थाको विकासका लागि आर्थिक पारदर्शिता राख्न र मितव्ययी बन्न समेत उनको सुझाव छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रामप्रसाद घर्ती मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, दैलेखि समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरी लगायतले बोलेका थिए ।


