
नेपालगञ्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले गगन थापा पार्टी सभापति भए काँग्रेसलाई चारटुक्रामा छिन्नभिन्न पारिदिने बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ को कार्यसमिति घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् ।
उनले पार्टी बनाउने नाममा महामन्त्री थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै थापा पार्टी सभापति भएमा काँग्रेसलाई चार टुक्रा पारिदिने दाबी गर्दै भने–‘महामन्त्री थापा गुटको राजनीति गर्दै पार्टी भित्र अराजकता बढाउने काम गरि रहेका छन् । विधि, विधान र प्रक्रिया भन्दा बाहिर गएर महामन्त्री गगन थापालाई अराजकता गर्ने छुट छैन । महामन्त्रीले जे पायो त्यही गर्न पाइन्छ ? ठिक छ लडाई लड्ने हो भने १५ औं महाधिवेशनमा हेरौला । पार्टी बनाउने नाममा गुट बनाउने र अराजकता गर्ने छुट महामन्त्रीलाई छैन । उनका कारण पार्टी अराजक ढंगबाट अघि बढेको छ ।’

पार्टी महामन्त्री थापाप्रति कटाक्ष गर्दै उनले भने–‘लावालस्कर लगाएर, हाहाहुहु गरेर पार्टी चल्दैन । भ्रष्ट मान्छे साथमा राखेर लोकप्रिय भइदैन ।’ २०५७ देखि देश दौडाहमा ननिस्केको बताउँदै राठौरले अब गगनको कार्यक्षेत्रमा उनका विरोधीलाई राखेर बैठक बस्ने चेतावनी दिए । आफू पार्टी सभापति भए अधिकतम न्याय गर्ने, पार्टीलाई अनुशासित र मर्यादित बनाउने दावि गर्दै राठौरले पार्टीको नेतृत्व लिने आफूभन्दा अर्को कोही नभएको बताए ।

पार्टीभित्र अनुशासन छैन, मर्यादा छैन, न्याय दिने अनुभूती छैन । यो माथिबाट जे भयो त्यही तल भइरहेकोछ । यसले पार्टी एकताबद्ध भएर अघि बढ्न सक्दैन उनको भनाइछ । ‘अस्ति गगन जी आउनु भयो । म सहमहामन्त्री जिल्ला मै छु । २०७४ मा चुनाव लड्दा अर्को पार्टीबाट चुनाव लड्ने, एमालेको पैसा खाने ब्यक्तिलाई पार्टी प्रवेश गराउने कार्य भयो । यो विधि, प्रक्रिया र विधान विपरित कार्य हो । पार्टीका सभापति, सचिवले विधान पढ्नुपर्छ । पार्टीविरुद्ध लडेकालाई पार्टी प्रवेश गराउने कार्य हास्यास्पद र लाजमर्दो कुरा हो ।’ सहमहामन्त्री राठौरले अगाडी थपे–‘महामन्त्रीलाई ल्याएर पार्टी विद्रोह गरेका ब्यक्तिलाई प्रवेश गराइदिनु भयो । लाजशरम छ की छैन तपाईहरुलाई ।’
सहमहामन्त्री राठौरले अगाडी भने–‘दुई नम्बर क्षेत्रको वडा सम्मेलन भएको छैन, पालिका सम्मेलन भएको छैन, प्रदेश सम्मेलन भएको छैन । क्षेत्रीय सम्मेलन गरिदिनुभयो । त्यो पनि जिल्ला सम्मेलन भएपछि । यो त गगन थापाको नाममा पैसा उठाएर खाने काम गरिदिनुभयो । ४ वर्षसम्म वडा सम्मेलन किन हुन सकेन ? कसले छानविन गर्नुपर्ने हो ?’
पद पाउने कुरा फरक कुरा हो । पद पायो भन्दैमा कार्यकर्ताको घर जानु पर्छकी पार्दैन । पार्टीको पदाधिकारी भएपछि सबैले मानिदिनुपर्ने हो । उनीहरुको समस्या के छ भनेर जानुपर्छकी पर्दैन ? भन्दै राठौरले जनताको घरदैलोमा जान निर्देशन दिए ।
नेपाल किसान महासंघ बाँकेका सभापति लाहुराम थारुको सभापतित्वमा भएको उक्त घोषणा कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह थापा, काँग्रेस बाँकेका पार्टी सभापति नारायणप्रसाद गौडेल, महासमित सदस्य, महाधिवेशन प्रतिनिधी, लुम्बिनी प्रदेश सांसद लगायतले आफ्ना धारणा राखेका थिए ।
यसैबीच, नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ को १७ सदस्यि कार्यसमितिको घोषणा गरिएको छ । जसको सभापतिमा सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सहसचिवमा विजय रत्न श्रेष्ठ, कोषाध्यक्षमा देवराज न्यौपाने तथा सदस्यहरुमा राजेन्द्र रेउले, सिता सिजापती, डम्मर विसी, सुमित्रा घले, त्रियोगी गिरी, पुरण बहादुर थारु, गंगाराम डाँगी, संजित कुमार थानी, देवी सिजापती, सम्स अलि सिद्दिकी र सुरज बर्मा रहेका छन् । भने सल्लाहकारमा कपील शर्मा र दुर्गा भण्डारी चयन भएका छन् ।


