
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ ले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने स्थानीय वडावासीहरुले आफ्नो वडा सामाजिक जवाफदेहिता र पारदर्शितामा अग्रणी रहेको दाबी गरेको पाईएको छ ।
एक सय ६५ जनाको सहभागिता रहेको कार्यक्रममा वडाबासीले वडापालिकाको प्रशंसा गर्दै स्थानीय सरकारको अभ्यास भएसँगै वडाले नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र त्यसको प्रभाव समुदायमा देखिएको बताएका छन् ।
नागरिक र वडाविच दोहोरो अन्तरसंवाद गरी नागरिकहरुका रचनात्मक सुझावहरु सकलन गर्ने, वडाले प्रवाह गरेका सेवा सुविधाहरुको बारेमा पृष्ठपोषण संकलन गर्ने, नागरिकहरुका सुझाव, सल्लाह र गुनासाहरु संकलन गर्ने उदेश्यका साथ वडाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो ।
बास नेपालले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति वक्तका रुपमा उपस्थित भएका नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले आफ्नो भनाई राख्दै उपमहानगरपालिकामा केही ठोस कार्य गर्न आफुमा नयाँ जोस जागर रहेको र उपमहानगरपालिकाको स्रोत बढाउने विषयमा आफुले राखेको रचनात्मक प्रस्तावहरुमा सबै जनप्रतिनिधिहरु सकारात्मक रहेको हुँदा आगामी दिनमा व्यवसाय दर्ता तथा संचालन लगाएतको कार्यमा उद्यमीहरुलाई थप सहजिकरण गर्ने तथा नेपालगन्जको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने बताए । उनले वडा नं. १ ले फोहोर व्यवस्थापन तथा विकास निर्माणको क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको र त्यसको निरन्तरताको लागि सुझाव दिए ।
सहभागीहरुको प्रश्नको जवाफ दिँदै कार्यक्रमका प्रमुख जवाफदेहि वक्ता वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले वडाको समग्र विकासको लागि आफुले दिन रात प्रयास गरिरहेको र उपमहानगरपालिका, प्रदेश तथा संघ मार्फत आएका योजनाहरुको कार्यान्वयको समयमा वडावासीले सहजिकरण गरिदिनु पर्ने र कतै पनि विवाद ल्याउन नहुने बताए ।
उनले वडाले स्थापना काल देखि नै सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र यस मार्फत वडावासी र वडाको सम्बन्ध थप सुमधुर भएर जाने बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा ७ बुँदे प्रतिबद्धताहरु घोषणा गरिएको छ ।

प्रतिबद्धताहरुमा वडाले युवा लक्षित कार्यक्रमहरुलाई प्राथामिकतामा राख्दै बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगाएतको विषयलाई बजेट तथा कार्यक्रममा समेटने, धम्बोझी विद्यालय पछाडी बाल उद्यान तथा पार्कमा देखिएका अनैतिक तथा असामाजिक गतिविधिहरुलाई रोक्न सम्बन्धित निकायसँग समन्वय गर्दै त्यस्ता कार्यमा प्रतिबन्घ लगाउने, वडाका विभिन्न टोलहरुमा बाटो तथा नाली निमार्णको आवश्यकता रहेको भन्ने माग आएकोले आगामी वर्षमा क्रमशः प्राथामिकरणको आधारमा निर्माण गर्दै जाने ।

विभिन्न सार्वनिक स्थल, बाटो तथा बाल उद्यानहरुमा देखिएका लागु औषध दुव्र्यसनी, मद्यपान तथा धुम्रपान सेवनलाई रोक्न वडा कार्यालयले विशेष कार्यक्रम तर्जुमा गर्ने, लक्षित वर्गको कार्यक्रम अन्तर्गत महिला, दलित, बञ्चितीकरणमा पेरको समुदायलाई प्राथामिकतामा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, वडाको सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सूचना प्रणालीमा जाने तथा स्रचना प्रवाहमा सबैको पहुँच स्थापित गर्ने रहेको छन् ।
कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने स्वागत मन्तव्य कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य कुमारी पुष्पा सिँहले राखेकी थिइन् । सोही दिन नै आयोजना गरेको वडा भेला कार्यक्रममा वडा वासीहरुले आआफ्नो योजना तथा कार्यक्रम माग प्रस्ताव समेत पेश गरेका थिए ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले वडाको आर्थिक वर्ष २०८– ०८२ को प्रगति प्रतिवेदन पेश गरेका थिए ।



