
खजुरा (बाँके) : बाँकको खजुरा गाउपालिकामा रहेको पेडारी नालामा शनिबार दिउसो करिव ४ बजे नुहाउने क्रममा एक बालक डुवेर बेपत्ता भएका छन् । घटनास्थलमा पुगेका बेपत्ता बालकका आफन्तले वेपत्ता भएका बालकको खोजीमा स्थानीय प्रहरीले चासो नदिएको गुनासो गरेका छन् ।
हुलाकी राजमार्ग अन्तरगत पेडारी नाला पुलको मुनी नुहाउन गएका १२ वर्षिय साविर मिया ठकुराई वेपत्ता भएका हुन । बेपत्ता भएका ठकुराईका साथमा अन्य दुई जना पनि रहेको उनीहरु सकुशल रहेको आफन्तले बताए ।

घटनास्थलमा रहेका आफन्तले घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा कवच लगाए पनि ‘खोजीको लागि पानीमा पस्ने आदेश छैन’ भन्दै रमिते बनेको आपन्तको आरोप छ ।
प्रहरीको टोली घटनास्थलमा समयमै पुगेको भएपनि बेपत्ता भएका ठकुराईको खोजीको लागि चासो नदिएको आरोप वेपत्ता भएका ठकुराईका ठूलो बुवा नाता पर्ने मो.ऐश ठकुराईले लगाए ।
यसैबीच जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक रामप्रसाद घर्तीमगरले घटनास्थलमा झाडि र गहिरो भएको कारण पानीमा पस्न नसकेको बताए । उनले प्रहरीले खोजी गरिरहेको बताए ।


