अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा

सदरलाइन संवाददाता २५ जेष्ठ २०८२, आईतवार १६:२०
 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलोन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन् । शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले टेक व्यवसायी मस्कसँग आफ्नो सम्बन्ध अन्त्य भएको बताएका हुन् ।

ट्रम्प र मस्कबीच बढ्दो तिक्तताका बीच अन्तर्वार्तामा सोधिएको थियो, ‘के मस्कसँग तपाईंको घनिष्ट सम्बन्ध अब सकिएको हो त ?’, जवाफमा ट्रम्पले भने, ‘हो म त्यस्तै ठान्छु ।’ ‘मस्कसँग बिग्रिएको सम्बन्ध सुधार्न चाहनुहुन्छ ?’ भन्ने अर्को प्रश्नमा ट्रम्पले सीधै ‘चाहदिँन’ भनेर जवाफ दिएका थिए ।

राष्ट्रपति ट्रम्प र मस्कबीचको पछिल्लो समय सामाजिक सञ्जालमार्फत नोकझोक चलेको थियो । ट्रम्प प्रशासनले ल्याउन लागेको बीग ब्यूटीफूल बील (कर र खर्चसम्बन्धी विधेयक) को मस्कले आलोचना गरेपछि यी दुईबीच तिक्तता बढेको हो ।

त्यसो त मस्कले राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पलाई करोडौं डलर सहयोग गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प प्रशासनमा मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डज) नामक सरकारी निकायको प्रमुख बनाइएको थियो । डजमा उनले १२९ दिन काम गरे ।

राष्ट्रपति ट्रम्पको विधेयकलाई मस्कले ‘घृणास्पद’ भन्दै तीव्र आलोचना गरेपछि ट्रम्प उनीसँग चिढिएका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । विधेयकको विरोध गर्दै मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पले अख्तियार गर्न खोजेको नीतिले राष्ट्रिय घाटा बढाउने भन्दै डजमार्फत आफूले पहल गरेको सरकारी खर्च घटाउने रणनीतिले त्यसले कमजोर पार्ने बताएका थिए ।


बिहिबार पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले मस्कलाई लक्षित गर्दै उनीप्रति आफू ‘निराश’ भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि मस्कले एक्समा पोस्ट गर्दै आफ्नो सहयोगबिना ‘ट्रम्पले राष्ट्रपतीय चुनाव जित्नै सक्थेनन्’ भनेका थिए ।

ट्रम्पको नाम जेफ्री एप्स्टीन सम्बन्धी फाइलहरूमा रहेको आरोप समेत लगाएका मस्कले पछि उक्त पोस्ट डिलिट गरेका थिए । मस्कको पोस्टपछि प्रतिक्रिया दिँदै एप्स्टीनका वकिलले उक्त आरोपको खण्डन गरेका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्कलाई ‘पागल’ भएको टीप्पणी गरेका थिए । शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले मस्क राष्ट्रपति पदको सम्मान नराखेको आरोप लगाएका बीबीसीले उल्लेख गरेको छ ।

‘मलाई लाग्छ धेरै नराम्रो कुरा हो, किनभने उनले अत्यन्त असम्मान देखाएका छन्, तपाईं राष्ट्रपति पदको अपमान गर्न सक्नुहुन्न’, अन्तर्वार्तामा ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले मस्कका टेक कम्पनीहरु स्पेस एक्स, टेस्ला लगायतका कम्पनीसँग अमेरिकी संघीय सरकारले गरेका ठेक्का सम्झौता तोड्नेसम्मको चेतावनी दिएका छन् ।

संसारकै सबभन्दा धनाढ्य व्यक्ति मस्कले ट्रम्पको चुनावी अभियानमा झन्डै २५० मिलियन डलर सहयोग गरेका थिए । सामाजिक सञ्जालमा चर्किएको द्वन्द्वका बीच मस्कले आगामी चुनावहरुमा ट्रम्पका विपक्षी दल डेमेक्र्याटलाई समर्थन गर्ने संकेत गरेका थिए ।

ट्रम्पको बीग ब्यूटीफूल बीललाई चुनौती दिने सांसदहरुलाई आफ्नो समर्थ रहने मस्कको भनाइ छ । यसको जवाफमा ट्रम्पले मस्कले त्यसो गरे गम्भी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी वन व्यवस्थापनका लागि बहस

२५ जेष्ठ २०८२, आईतवार १६:२०
  नेपालगञ्ज : ‘वन क्षेत्रमा लैङ्गिकता तथा सामाजिक समावेशीकरण’ विषयक सार्वजनिक संवाद गरिएको छ । वन क्षेत्रका नीतिगत तथा कार्यान्वयन तहमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा सो संवाद गरिएको हो । संवादका क्रममा सहभागीहरूले वन उपयोगमा लैङ्गिक विभेद, सामुदायिक वन उपभोक्ता […]